बामदेव र झलनाथलाई फकाउने रणनीतिमा ओली

रविन्द्र पत्नी विद्याले माने वामदेवले कास्कीमा उपचुनावको टिकट पाउने, झलनाथका केही नेतालाई पनि मन्त्रीको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, ०७ : ५३
बामदेव र झलनाथलाई फकाउने रणनीतिमा ओली

काठमाडौं । पार्टीभित्र आफु इतर पक्ष बलियो बन्दै जान थालेपछि प्रधानमन्त्री केपी ओलीले प्रभावशाली नेताहरुलाई फकाउने रणनीति अख्तियार गर्न थालेका छन् । प्रधानमन्त्री ओलीलाई पार्टी सचिवालयमा आफु पक्षिय नेताहरु महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरेलको मात्र साथ रहेपछि उनी आफु इतर नेताहरुको बलियो धार कमजोर बनाउन र आफ्नो धार बलियो बनाउन नेताहरु फकाउने रणनीतिमा लागेका हुन् ।

त्यही क्रममा उनको पहिलो रोजाई परेको छ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतम । उनले यी दुई नेतालाई आफु तिर तान्ने र प्रचण्ड–माधव नेपाल बीच बन्न सक्ने सम्भावित समिकरणलाई भत्काउने योजना समेत बनाउन लागिपरेको स्रोत बताउँछ ।

विगतमा आफैले चाहना राख्दा र केही चुनाव जितेका सांसदहरुले समेत उपचुनावमार्फत सिट छोड्न तयार हुँदा सम्म बामदेव गौतमलाई उपचुनाव लड्न पार्टीभित्र सजिलो भएन । ओलीकै समुहबाट आएको तिव्र विरोधका बाबजुद गौतमले चुनाव सजिल्यै लड्न पाएका थिएनन् । गौतमले डोल्पा देखि काठमाडौं सम्मको निर्वाचन क्षेत्रमा चुनाव लड्न खोजेका थिए । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले त गौतमका लागि पद छोड्न तयार रहेको भन्दै राजीनामा पत्र समेत पार्टी अध्यक्षलाई बुझाईसकेका थिए ।

तर, ओली पक्षमा रहेका सचिवालय सदस्य इश्वर पोखरेलको चर्काे असन्तुष्टि र विरोधपछि बामदेवको सपनामा तुषारापत लाग्दै आएको थियो । पोखरेलको विरोधमा भएको लविङपछि गौतम पछि हट्न वाध्य भईरहनु परेको थियो ।

तर अहिले प्रधानमन्त्री ओलीले बामदेवलाई फकाउनका लागि कास्की २ बाट उपचुनाव लडाउने प्रस्ताव आफैले गरेका हुन् । उनले नेता गौतमलाई एक्लै बोलाएर गरेको छलफलमा कास्कीबाट चुनाव लड्ने मानसिकता बनाउनुहोस्, पार्टीले जिताउन सहयोग पनि गर्छ भन्दै त्यस्तो प्रस्ताव गरेको स्रोत बताँउछ ।

त्यसक्रममा नेता गौतमले त्यस क्षेत्रमा रविन्द्र अधिकारीकै श्रीमती विद्या चुनाव लड्ने मानसिकतामा रहेको कारण उनको भावना बुभ्mनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै उनले आफुलाई चुनाव लडाउने भनेर कतै फेरि विरोधमा लविङको खेल त चलेको छैन भनी ओलीसँग जिज्ञासा राखेको स्रोत बताउँछ ।

उनले पार्टीभित्रै पोखरेलको भूमिका शंकास्पद रहने भन्दै आफुलाई आलोचित मात्र बनाउने कार्डका रुपमा प्रयोग नगर्न ओलीसँग आग्रह गरेका छन् । जवाफमा ओलीले इश्वर पोखरेललाई मिलाउने जिम्मा आफ्नो भएको भन्दै मानसिकता बनाउन आग्रह गरेको स्रोत बताउँछ ।

अहिले वामदेवलाई कास्कीबाट चुनाव लड्न ओलीले गरेको प्रस्तावको विषयमा ओली, गौतम र पोखरेलका बीचमा मात्र एक्लाएक्लै छलफल भएको छ । ओलीले पोखरेलसँग पनि बामदेवलाई कास्कीबाट अगाडी सार्न खोजेको प्रस्ताव गरेका थिए । पार्टीभित्र बन्दै गरेको समिकरण भत्काउनका लागि पनि बामदेवलाई अगाडी बढाएर आफनो पक्षमा राख्नुपर्ने अवस्था आएको ओलीले पोखरेलसँग पनि संवाद गरिसकेको स्रोत बताउँछ ।

अहिले ओली, गौतम र पोखरेलका बीचमा मात्र जानकारीमा रहेको यो विषय सचिवालय बैठकमा प्रवेश भने पाइसकेको छैन ।

पहिलो चरणमा शीर्ष नेतृत्वले नै रविन्द्रकी पत्नी विद्यासँग छलफल गर्ने र उनलाई मनाएर बामदेवलाई उम्मेदवारी प्रस्ताव सचिवालय बैठकमा गर्ने तयारी भईरहेको स्रोतले दाबी गरेको छ ।

त्यसका लागि विद्यासँग प्रधानमन्त्री ओलीले नै यस विषयमा छलफल गर्नेछन् । ‘विद्याजीले मान्नुभयो भने बामदेव कास्कीवाट चुनाव लडनुहुन्छ, अन्यथा विद्याजी नै उठ्नुहुन्छ,’ बालुवाटार स्रोतले सफल खबरसँग भन्यो ।

विद्या तत्कालिन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं २ का निर्वतमान सांसद रविन्द्र अधिकारीकी पत्नी हुन् । रविन्द्रको गत फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र जनप्रतिनिधी बिहिन अवस्थामा छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुसँगको परामर्शका आधारमा १४ मंसिरमा त्यस क्षेत्र लगायत अन्य रिक्त प्रदेश सभा, स्थानिय तह लगायतमा उपचुनाव गराउने प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमा सरकारले स्वीकृत गर्ने बित्तिकै उपचुनावको मिति तय हुनेछ । 

रविन्द्र श्रीमती विद्यालाई भने प्रधानमन्त्रीले अब रिक्त रहने राष्टिय सभामा लैजाने तर त्यस क्षेत्रमा बामदेवलाई अगाडी बढाउनु पर्ने पार्टी आवश्यकता रहेको जनाउँदै अगाडी बढाउन खोजेको बालुवाटार स्रोतले बताएको छ ।

यो प्रधानमन्त्री ओलीको चाहना भन्दा पनि पार्टीभित्र आफु बलियो बनिरहनका लागि बनाउन लागिएको समिकरणका लागि भएको नेकपा नेताहरुको भनाई छ । एमालेको गत नवौं महाधिवेशनमा पनि ओलीले बामदेवकै साथ र सहयोगमा पार्टी अध्यक्ष र संसदीय दलको नेता बनेका थिए ।

तर त्यसबेला भएको सहमति ओलीले कार्यान्वयन नगरेको भनी गौतम ओलीसँग रुष्ट थिए । तर विगत दुई साता यता भने ओलीले गौतमलाई अब आफु वाचा पूरा गर्न प्रतिवद्ध रहने भन्दै मिलेर जान प्रस्ताव गरेका थिए ।

गौतमलाई पार्टी संगठन विभाग प्रमुख समेत बनाउन ओली लचक देखिएका थिए । ओली गौतमलाई पार्टी संगठन विभाग प्रमुख र कास्की २ को उपचुनावमा संसद उम्मेदवार बनाएर आफु पक्षमा तान्ने योजनामा छन् ।

उता ओलीको अर्काे नजर वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालतिर पनि परेको छ । उनले खनाल निकट रहेका र खनालको प्रस्तावका आधारमा केही नेताहरुलाई अब पूर्नगठन हुने मन्त्रिपरिषद्मा सहभागी गराएर आफुतिर तान्ने योजना बनाएका छन् ।

वामदेव र झलनाथ लाई फकाउन सकिए पार्टीमा आफु सचिवालयमा बलियो हुने विश्वासमा ओली देखिएका छन् । पार्टी सचिवालयमा रहेका अन्य नेताहरु आफुसँगको सम्बन्धमा सधै सहज नहुने ठानी उनले वामदेव र झलनाथलाई फकाउन खोजेको हुन सक्ने अहिले नेकपाभित्र बहस शुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस