चितवनमा पहिलो पटक कानुन विषयको पढाइ

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १२ : २८
चितवनमा पहिलो पटक कानुन विषयको पढाइ

चितवन । चितवनमा कक्षा ११ मा पहिलो पटक कानुन विषयको पढाइ हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले चितवनको भानु माविसहित देशैभरका ५ वटा सामुदायिक विद्यालयलाई यसवर्ष पहिलो पटक ११ कक्षामा कानुन विषय पढाउने अनुमति दिएको थियो । 

चितवनसहित सिराहा, बुटवल, भैरहवा, पोखरा र काठमाण्डौँका एक एक वटा विद्यालयले कानुन पढाउने अनुमति पाएको हो । भरतपुर महानगरपालिका २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन विषयको पढाई सुरु गर्ने अनुमति पाएसँगै जिल्लामा पहिलो पटक कानुन पढाई हुनेभएको छ । 

भानु माविले विद्यार्थी भर्ना सुरु गरेको विद्यालयका प्रधानाध्यापक विकास थापाले जानकारी दिए । यस वर्षबाट कक्षा ११ र १२ कक्षा सुरु गर्ने तयारी गरीरहेको विद्यालयले कक्षा ११ मा कानुन विषयको भर्ना पनि लिन सुरु गरेको हो । अहिलेसम्म १७ जना विद्यार्थीले कानुन विषय पढ्न फर्म भरेका छन । थापाका अनुसार चितवन बाहिरका सुर्खेतबाट २, उदयपुर, सर्लाहीलगायतका जिल्लाका विद्यार्थीहरुले पनि फर्म भरेका छन । 

आगामि साउन ५ गत्तेबाट कक्षा सुरु गर्ने विद्यालयले जनाएको छ । यसवर्ष बढीमा सय जनासम्म विद्यार्थी भर्ना गराउने विद्यालयको लक्ष्य छ । भर्नाका लागि एक विद्यार्थीले ९ हजार ५०० र मासिक शुल्क २४५० तिर्नुपर्ने विद्यालयले जनाएको छ । 

११ कक्षाबाटै कानुन विषय पढ्न पाउने भएसँगै स्नातक गरीसकेपछि मात्रै एलएलवि पढ्न पाउने बाध्यता हटेको छ । अब ११, १२ कक्षा पढेपछि सिधै एलएलवि पढ्न पाउने व्यवस्थाले कानुन विषयमा विद्यार्थीको आकर्षण बढ्ने अधिवक्ता अचल साक्यले बताए । यसअघि संस्थागत विद्यालयमा ११ बाटै पढाई हुनेगरेको भए पनि सामुदायिक विद्यालयले भने यस वर्ष पहिलो पटक अनुमति पाएको हो । 

यस्तै विद्यालयले कानुनसँगै १८ महिने जुनियर कम्प्युटर टेक्नीसियन जेसिआई र शिक्षा संकायमा पनि पढाइ सुरु गर्ने तयारी गरीरहेको छ । विद्यालयको शैक्षिक सुधार, विकासका लागी योजनावद्ध रुपमा लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले बताए । २०१८ सालमा स्थापना भएको सो विद्यालयमा हाल ५०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २५ जना शिक्षक र ७ कर्मचारी गरी ३२ जना रहेका छन । 
 

प्रतिक्रिया दिनुहोस