एकदिवसिय विश्वकप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी

शुक्रबार, २७ असार २०७६, ०९ : ५१
एकदिवसिय विश्वकप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी । पाँच पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो। अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

यससँगै क्रिकेट विश्वकपमा नयाँ विजेता बन्ने पक्का भएको छ। यसअघि इंग्ल्यान्ड तीन पटक फाइनलमा पुगेर उपाधिविहीन बनेको थियो। न्युजिल्यान्डले गत संस्करणमा पहिलो उपाधि जित्ने मौका गुमाएको थियो। अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । प्याट कमिन्सले २० ओभरको चौथो बलमा कट बिहाइन्ड निकाल्दै विकेटकीपर एलेक्स केरीबाट क्याच आउट गराउनु अघि रोयले ६५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।

रोयले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १७.२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । मिचेल स्टार्कले एलबीडब्लू आउट गर्नुअघि बेयरस्टोले ४३ बलमा ५ चौका सहित ३४ रन जोडे ।

जो रुट ४६ बलमा ८ चौका सहित ४९ रनमा अविजित रहे । त्यस्तै कप्तान इओन मोर्गन पनि ३८ बलमा ८ चौकासहित ४५ रनमा नट आउट रहँदै फाइनलमा स्थान पक्का गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे ।

अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वोक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । वोक्सले सातौं ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि एलेक्स केरी र स्टिभ स्मिथले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सुरुवाती दबाब कम गर्दै इनिङ उकासे । चोटका बाबजुद खेलि रहेका केरी आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै सब फिल्डर जेम्श भिन्सबाट क्याच हुँदै ४६ रनमा पेभिलिएन फर्किए । स्मिथलाई राम्रो साथ दिएका उनले ७० बलमा ४ चौका प्रहार गरे । यसै ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस एलवी डब्लू आउट हुँदै शुन्यमा पेभिलिएन फर्केपछि अष्ट्रेलिया पुन दबाबमा पर्यो । आर्चरको ३५ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा कप्तान इओन मोर्गनबाट क्याच आउट हुन पुगे । प्याट कमिन्स पनि ६ रनमा क्याच आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ३६ बलमा समान १ चौका र छक्का सहित २९ रनको महत्वपूर्ण योगदान दिए । नाथन लायन ५ र जेसन बेहरनडर्फले १ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे । मार्क उडको नाममा १ विकेट रह्यो ।
 

प्रतिक्रिया दिनुहोस