नेपाली काँग्रेसको घरझगडा

सभापति देउवालाई साइजमा ल्याउन हिन्दूराज्य बन्दैछ एजेण्डा

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १२ : १८
सभापति देउवालाई साइजमा ल्याउन हिन्दूराज्य बन्दैछ एजेण्डा

काठमाडौं । नेपाली काँगे्रसभित्रको गुटबन्दी हेर्दा लाग्छ, त्यो पार्टी नभई गुटैगुटको एउटा महासंघ हो । नेपाली कांग्रेसका संस्थापन पक्ष इतरका नेताहरु आन्तरिक रणनीति तय गर्ने भन्दै दैनिकजसो नै छलफल गरिरहेका छन् । उनीहरु पार्टी सभापति शेरबहादुर देउवालाई कसरी साइजमा ल्याउने भन्नेमा केन्द्रीत रहेका छन् । 
नुवाकोटे काँग्रेस भनेर चिनिएका अर्जुननरसिंह केसीका भाई जगदिश्वरनरसिंह केसीको निवास गोंगबुमा संस्थापनको विरोधमा रहेका नेताहरुको बैठक बसेको छ । पटक पटक केसीको घरमा बैठक बसेको छ । पार्टी विधानमा वरिष्ठ नेता नभएपनि मानका लागि मान भने जस्तै वरिष्ठको उपाधि पाएका रामचन्द्र पौडेलेको घरमा बैठक बस्दा बढी हल्लाखल्ला हुने भएकाले केसीको निवास छानिएको जानकारहरुको भनाइ छ । 
बैठकमा सहभागी एक काँग्रेस नेताका अनुसार बैठकमा महामन्त्री शशांक कोइरालाले देउवाले सबै सिध्याए पनि आफूहरुले केही गर्न नसकेको बताएका थिए । उनले सभापति देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो नेकपालाई पनि साइजमा ल्याउने हो भने हिन्दूराज्य, एकलराज्यको अवधारणा अगाडि बढाउनु पर्ने बताएका थिए । उनले धर्मनिरपेक्षताको फाइदा कम्युनिस्टले मात्रै लिएको भन्दै काँग्रेसले हिन्दूधर्मको एजेण्डालाई अगाडि लानुपर्ने बताएका थिए । 
कोइरालाको प्रस्तावलाई रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीले पनि समर्थन जनाएका थिए यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिन्दु धर्मको एजेण्डा अगाडि लैजाने हो भने जनमत आफूहरुको पक्षमा आउने बताएका थिए । कम मात्रै बोलेका पौडेलले हिन्दु धर्म बटमलाइन बनाउने गरी महामन्त्रीका तर्फबाट आएको प्रस्ताव सही भएको बताएका थिए । 
कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सुजाता कोइरालालगायतले पनि हिन्दु धर्मको एजेण्डालाई आत्मसात् गरे काँग्रेसलाई फाइदा हुने बताएका थिए । पछिल्ला दिनमा नियमित जसो हुने बैठकमा विगतमा राजनीतिक रुपमा निर्णय भएको र नेपालको परिवर्तको एउटा प्रक्रियामा सहभागी भइसकेको र संविधान प्रदत्त विषयलाई समेत उल्ट्याउने गरी नेताहरु प्रस्तुत भएका छन् । 
छिमेकी देश भारतमा हालै सम्पन्न निर्वाचनमा भारतीय काँग्रेस आईले पानी समेत पिउन पाएन । संविधान अनुसार भारतको लोकसभामा काँग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता समेत पाएन । राहुल गान्धीको करिष्मा समेत नचलेपछि भारतीय काँगेस इतिहासमा नै नराम्ररी पछारिएको छ । नेपालमा पनि नेपाली काँग्रेसको हालत करिब करिब त्यस्तै रहेको छ । काँग्रेसको कार्यशैली नसुध्रने हो भने भारतीय काँग्रेसको जस्तै हालत नेपालमा पनि हुने जानकारहरुको टिप्पणी छ । 

प्रतिक्रिया दिनुहोस