सिरियामा बारुदी सुरुङ बिस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

एजेन्सी

बुधबार, २५ असार २०७६, १६ : ५८
सिरियामा बारुदी सुरुङ बिस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

सांकेतिक तस्विर

दमास्कस । सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ । 

इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन् । यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए । 

गत मार्च ६ र फेब्रुअरी २४ मा पनि बारुदी सुरुङ बिस्फोटबाट ३३ जनाको ज्यान गएको थियो ।  (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस