ट्युनिसिया डुङ्गा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का

एजेन्सी

शुक्रबार, २० असार २०७६, १८ : १९
ट्युनिसिया डुङ्गा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का

सांकेतिक तस्विर

जेनेभा । ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा  ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।

भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भन्नुभयो, “आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।”

उहाँले भन्नुभयो, “सहज अवस्था वा विकल्प पाउँदासम्म डुङ्गाको खतरनाक यात्रा गरी कसैले पनि आफ्नो र आफ्ना परिवारको जीवनमाथि खतरा मोल्न तयार हुँदैन ।”  “यो उनीहरूको मजबुरी हो यसबारे विश्व समुदाय र मानवअधिकारवादी सङ्घसंस्थाको ध्यानाकर्षण हुनु जरूरी छ । 

हामीले नागरिकलाई अर्थपूर्ण विकल्प दिनुपर्छ जसले उनीहरूलाई डुङ्गामा पाइला राख्नुपर्ने बाध्यतालाई रोकोस् ।” (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस