कोपा अमेरिका : भेनेजुयलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी

शनिबार, १४ असार २०७६, ०७ : १६
कोपा अमेरिका : भेनेजुयलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा उसको भिडन्त आयोजक ब्राजिलसँग हुनेछ ।

खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर गर्ने मौका पाएको थियो । मार्कोस अकुनाको क्रसमा मार्टिनेजविरुद्ध रोजालेसले सफल ट्याकल गरेपछि खतरा टारेको थियो ।

दोस्रो हाफमा अर्जेन्टिनाले दबाब कायम राख्यो । तर काउन्टर अट्याकमा भेनेजुएलाले सुवर्ण अवसर खेर फाल्यो । रिंकनको पासमा हर्नान्डेजले १२ यार्ड टाढाबाट गरेको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले विफल पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ४ मिनेटमा नै जिओभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले ७४ औं मिनेटमा अगुएरोको क्रसलाई गोलरक्षकले बचाउन नसक्दा रिबाउन्डलाई खाली पोस्टमा गोलमा परिणत गरे ।

अर्जेन्टिनाले अब फाइनल प्रवेशका निम्ति घरेलु टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो खेलको तुलनामा आक्रमणमा केहि छरितो देखिएको अर्जेन्टिनाले बल पोसेसनमा भने पकड जमाउन सकेन ।

प्रतिक्रिया दिनुहोस