राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

मंगलबार, १० असार २०७६, १७ : २२
राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रियसभाबाट आज गुठी विधेयक फिर्ता भएको छ। बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा सञ्चालन नियमावलिको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी हुन् । जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएकोु जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

‘फिर्ता गरेर पुग्दैन भनेको सुन्दा अचम्म लाग्छ। जुन चिज थियो झिकेर लगियो। अब कुन चिज खारेजी गर्ने हो’ अर्यालले सोधिन्,  ‘गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी हुन म आग्रह गर्दछु।’ राष्ट्रियसभामा गत वैशाख १७ गते विधेयक दर्ता भएको थियो।

विधेयक जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो भने जेठ १३ गते सामान्य छलफल भएको थियो। विधेयकमाथि सांसदहरूले ६ वटा संशोधन समेत दर्ता गराइसकेका थिए। तर राजधानीमा विधेयकविरूद्ध व्यापक प्रदर्शन भएपछि सरकारले फिर्ता लिने निर्णय गरेको थियो। यसअघि गुठी विधेयकको बारेमा चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिने बताएकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस