एकदिवसीय विश्वकप क्रिकेट : शामीको ह्याट्रिक, अफगानिस्तान भारतसँग ११ रनले पराजित

एजेन्सी

आइतबार, ०८ असार २०७६, ०९ : ५३
एकदिवसीय विश्वकप क्रिकेट : शामीको ह्याट्रिक, अफगानिस्तान भारतसँग ११ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा भारत विजयी भएको छ । रोज बल मैदानमा भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले हरायो । भारतले दिएको दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले अन्तिम ओभरसम्म जितको आशा देखाए उनी तीन बल बाँकी छँदा आउट भएका थिए । नाबीले  ५२ रन बनाए । रमात साहले ३६, कप्तान गुलबद्दिन नइबले २७, हसमतुल्लाह साहिदी र नाजिबुल्लाह जाडरनले समान २१ र हजरतुल्लाह जाजइले १० रन बनाए । भारतका मोहमद सामीले चार विकेट लिए । यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र युजभेन्द्र चाहलले दुई दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पाली खेले । कोहलीले ६३ बलमा पाँच चौकाको मद्दतमा ६७ रन बनाए । जाधवले चौकाबाट ५२ रन बनाए । लोकेश राहुलले ३०, विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८ र हार्दिक पाण्ड्याले सात रन बनाए ।

अफगानिस्तानका मोहम्मद नाबी र कप्तान गुलबद्दिन नइबले दुई दुई विकेट लिए । मुजीवउर रहमान, अफताव आलम, रामत साह र रासिद खानले एक एक विकेट लिएका थिए । यससँगै चौथो जित हात पारेको भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पाँच खेलबाट नौ अंक बनाएको छ । ६ खेलमा सबै हार खेपेको अफगानिस्तान तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया दिनुहोस