एकदिवसिय विश्वकप क्रिकेट : उपाधि दाबेदार इंग्ल्यान्ड श्रीलंकासँग पराजित

एजेन्सी

शनिबार, ०७ असार २०७६, ०९ : २९
एकदिवसिय विश्वकप क्रिकेट : उपाधि दाबेदार इंग्ल्यान्ड श्रीलंकासँग पराजित

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । दुुई सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अलआउट हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै ८२ रनमा अविजित रहेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुगेको हो । स्टोक्सले ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई शुन्यमा गुमाएको थियो । उनलाई लाथिस मलिङ्गाले एलवी डब्लू आउट गरे ।

सातौं ओभरको पाँचौ बलमा जेम्श भिन्सलाई मलिङ्गाले १४ रनमा कुशल मेन्डिसबाट क्याच आउट गराए । १९ ओभरको चौथो बलमा इसरु उडानाले कप्तान इओन मोर्गनलाई १८ रनमा आफैं क्याच लिँदै पेभिलिएनको बाटो देखाएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । चौथो विकेटका लागि जो रुट र बेन स्टोक्सले ५४ रनको साझेदारी गर्दै दबाब केहि कम गरे । तर मलिङ्गाले ३१ ओभरको तेस्रो बलमा जो रुटलाई कुशल परेराबाट ५७ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड थप समस्यामा परेको थियो । 
तल्लोक्रममा ठूलो आसा गरिएका विकेटकीपर जस बटलरलाई मालिंगाले नै एलबीडब्लू आउट गर्दै १० रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्ड संकटमा परेको थियो । धनञ्जय डी शिल्भाले मोइन अलीलाई १६, क्रिस वोक्सलाई २ र आदिल राशिदलाई १ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो ।

जोफ्रा आर्चरबाट आशा गरिएको थियो । तर ४४ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै थिसारा परेराबाट ३ रनमा क्याच आउट भएपछि श्रीलंका जित नजिक पुगेको थियो । श्रीलंकाका लागि लाथिस मलिङ्गाले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै धनन्जय डी शिल्भाले पनि ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट हात पारे । इसुरु उडाना २ र नुवान प्रदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि ब्याटिङ गर्दै २३२ रन बनाएको श्रीलंकाका लागि एन्जेलो म्याथयुजले अविजित ८५ रन जोडे उनले ११५ बलमा ५ चौका तता १ छक्का प्रहार गरेका थिए।

अभिस्का फर्नान्डोले ४९ रन जोड्दा कुशल मेन्डिसले ४६ रनको योगदान दिए। त्यसअघि ओपनरद्वय कप्तान दिमुख करूणारत्ने १ रन र कुशल परेरा २ रनमा आउट भए। मध्यक्रमका ब्याट्सम्यान जीवन मेन्डिस डक आउट हुँदा धनन्जय डे सिल्भाले २९ रन बटुले।

बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडको ३–३ विकेट लिए। आर्चरले १० ओभरमा २ मेडन राख्दा ५२ रन दिए। उडले ८ ओभरमा ४० रन खर्चिए। अदिल रसिले २ विकेट तथा क्रिस ओएक्सले १ विकेट हात पारे।

जितसँगै छैठौं खेलमा दोश्रो जित हासिल गरेको श्रीलंकाले ८ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा पुगेको छ। उसले २ खेलमा हार तथा समान २ खेलमा अंक बाँडेको छ।

त्यस्तै ६ खेलिसकेको इङ्ल्याण्ड तालिकाको तेश्रो स्थानमा छ। ६ खेल्दा उसले ४ मा जित र दुई मा हार बेहोरेको छ। ऊ अंकतालिकाको तेश्रो स्थानमा यथावत छ।

प्रतिक्रिया दिनुहोस