यौन उत्पीडनको आरोपमा फसेका एक योग गुरुको रोचक कहानी

एजेन्सी

शुक्रबार, ०६ असार २०७६, १३ : १२
यौन उत्पीडनको आरोपमा फसेका एक योग गुरुको रोचक कहानी

एजेन्सी । संसारभरी आज योग दिवस मनाइँदैछ । यो अवसरमा विभिन्न योगाचार्य र योग साधकबारे पनि चर्चा भइरहेको छ । आज हामी यस्ता योग गुरुबारे जानकारी दिँदैछौं जो निकै विवादास्पद छन् तर अत्यधिक चर्चित पनि र ती हुन् विक्रम चौधरी । विक्रम सुरुमा सेक्स स्क्यान्डलमा फसेका कारण र पछि श्रीमतीसँगको सम्बन्धविच्छेदका कारण चर्चामा आए ।

विक्रमको सन् २०१६ मा श्रीमती राजश्रीसँग सम्बन्धविच्छेद भयो । राजश्रीले सेटलमेन्टको रुपमा विक्रमबाट ब्रेवरी हिल्स र लस एन्जलसमा भएको बंगलाका साथै फेरारी, मर्सिडिज ५५० र बेन्टले कार पाएकी थिइन् । यसअघि सन् २०१५ मा विक्रमले  अमेरिकी अदालतमा वकालत गर्ने वकिल मिनाक्षीको पनि यौन शोषण गरेको प्रमाणित भएको थियो ।  यो अपराधको सजाय स्वरुप विक्रम चौधरीमाथि करिब ६ करोड भारु जरिवाना लगाइएको थियो ।

कोलकातामा जन्मेका विक्रम चौधरीले करिब ४४ वर्षअघि भारत छोडेर अमेरिकामा आफ्नो कदम राखेका बेला सोचेका पनि थिएनन् कि एक दिन उनी आफ्नो योगासनका कारण संसारभरी राज गर्न थाल्नेछन् । आफ्नो कोसिस र भाग्यले उनले जे हासिल गरे, त्यो धेरैका लागि उदाहरण हुनसक्छ । तर आफ्ना गलत बानी र विभिन्न महिलाले बलात्कारको आरोप लगाएपछि उनी विवादित बनेका हुन् ।

विदेशीका लागि योग एउटा नयाँ कुरा थियो । विक्रमले ४० डिग्री सेल्सियस तापक्रममा मानिसहरुलाई योग सिकाएर उनीहरुलाई चुस्त–दुरुस्त राख्ने जुन अचम्मको तरिकाको खोजी गरे, त्यले चौधरीलाई निकै छिटो चर्चित बनायो । थुप्रै सेलिब्रिटी उनका अनुयायी भइसकेका थिए । उनका कारण भारतको वर्षौं पुरानो हठ योग ‘हट योगा’ मा परिवर्तन भयो ।

योगाका २६ आसनको लाइसेन्सः

चौधरीले मौकाको फाइदा उठाए र हट योगाका २६ आसनको लाइसेन्स हासिल गरे । बिस्तारै उनले ती हरेक कुरा हासिल गरे जुन साधारण मानिसको सपना हुन्छ । चाहे त्यो आलिशान बंगला नै किन नहोस्, महँगो गाडी वा करोडौंको सम्पत्ति । उनीसँग सबैकुरा थियो तर एक विद्यार्थीले बलात्कारको आरोप लगाएपछि उनीबारे नकारात्मक प्रचार हुन थाल्यो ।

४६ वर्ष कान्छी युवतीले लगाइन् आरोपः

सफलता पाएपछि विक्रम चौधरीमाथि यौन उत्पीडनको मामलाको ओइरो लाग्न थाल्यो । पाँच युवतीले उनीमाथि बलात्कार र उत्पीडनको आरोप लगाएका थिए । त्यसको दुई वर्षपछि ठ्याक्कै त्यस्तै आरोप लाग्यो । यसपटक उनीभन्दा ४६ वर्ष कान्छी एक विद्यार्थीले सन् २०१० मा बलात्कारको आरोप लगाइन् । उनका अनुसार मालिसको बहानामा ज्यादती गरियो । यस मामलामा उनले अमेरिकी अदालतमा मुद्दा दर्ता गराइन् ।

४ वर्षदेखि योगाः

भारतीय मिडियामा छापिएको खबर अनुसार चार वर्षको उमेरमा योगको सुरुवात गरेका विक्रमलाई योगको नशा यति लाग्यो कि उनी दैनिक ६ घण्टासम्म योगाभ्यास गर्न थाले । उनले १३ वर्षको उमेरमा नै नेशनल इन्डिया योगा च्याम्पियनशीपको उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भए ।

थुप्रै देशमा योगा स्टुडियोः

सन् १९७३ मा फेलबाइटिस नामको रोगसँग जुधिरहेका अमेरिकी राष्ट्रपति निक्सनले उनलाई आफ्नो उपचारका लागि बोलाएका थिए । त्यसपछि उनी अमेरिकामा नै बसे । उनले त्यहाँ योगा सिकाउन सुरु गरे । त्यसपछि उनले आफ्नो नामबाट विक्रम हट योगाको सुरुवात गरेर एउटा ब्रान्ड नै बनाए । उनले विभिन्न मुलुकमा योग स्टुडियोको सुरुवात गरे ।

विक्रमको लोकप्रियताः

यौन उत्पीडनको आरोप लागेका चौधरीविरुद्ध थुप्रैले मुद्दा हालेपनि उनलाई सेलिब्रिटीले पछ्याउन भने छोडेका छैनन् । ब्रिटेनका फुटबल स्टार डेविड बेकह्याम, टेनिस खेलाडी एन्डी मरे, पप गायिका मडोना, लेडी गागा, दिवंगत गायक माइकल ज्याक्सन उनका प्रशंसक हुन् ।

प्रतिक्रिया दिनुहोस