हुम्ला जीप दुर्घटनाका बेपत्ताको अवस्था अझै पत्ता लागेन

गोताखोर हिजैबाट घटनास्थलमा, नदीको तिव्र वाहावका कारण बालुवा र ठूला ढुंगा आएर ठोकिन खोज्दा उद्धारमा समस्या

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ०८ : ५०
हुम्ला जीप दुर्घटनाका बेपत्ताको अवस्था अझै पत्ता लागेन

काठमाडौं । मंगलवार मध्यान्ह १२ बजे । हुम्लाको खार्पुनाथ गाउपालिका ५ वडु विसौनाबाट लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्यो । राष्टिय सडक सन्जालमा नजोडिएको हुम्लामा हेलिकप्टरबाट पु¥याईएको उक्त जीप कर्णालीमा खस्दा खार्पुनाथ गाउपालिका उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानिय चन्द्रबहादुर हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्दादेवी सिंह, कोरा दमाई, उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका राजु श्रेष्ठ जीप सहित बेपत्ता भए ।

त्यसयता स्थानिय प्रशासनले उनीहरुको खोजी कार्य जारी राखेको छ, तर अहिलेसम्म अवस्था पत्ता लगाउन सकेको छैन । न त कर्णालीमा खसेको जीप नै उद्धार टोलीले फेला पारेको छ, न त्यसमा सवार यात्रुहरुको अवस्था नै । वुधबारबाट शसस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल पुगेको छ । दिनभर तिन पटक उक्त टोलीले पनि कर्णाली नदीमा पसेर बेपत्ताहरुको खोजी प्रयास ग¥यो, तर असफल मात्र भईरहेको छ ।
कर्णालीबाट पत्रकार अर्जुन बोहोराले सफल खबरलाई दिएको जानकारी अनुसार, वुधबार शसस्त्र प्रहरी निरिक्षक लक्ष्यमण बस्नेतको नेतृत्वको १० जनाको टोलीले तीन पटकसम्म नदीमा पसेर खोजी गरेपनि अवस्था कसैको पत्ता लगाउन नसकेको हो । आज पनि खोजी कार्य जारी रहने स्थानिय प्रशासनले जनाएको छ । शसस्त्र प्रहरी वल कुरिनटारबाट गोताखोर टोली हिजो सेनाको हेलिकप्टरबाट घटनास्थल पुगेको थियो ।

‘घटना भएको तीन दिन भयो, अब वेपत्ता यात्रुको जिवितै उद्दार गर्न सकिने आस कम छ,’ हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहलाई उदधृत गदै त्यहाका पत्रकारहरुले भनेका छन्, –‘अहिलेसम्म यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन, खोजी कार्य जारी छ ।’ नदीको वेग र चिसो पानीका कारण खोजी कार्यमा कठिनाई भएको प्रहरीको भनाई छ ।

पत्रकार अर्जुन बोहोराका अनुसार, सिकारुले जीप चलाउँदा दुर्घटना भएको देखिन्छ । ‘कर्णाली नदीको वाहाव धेरै छ, उद्धारकर्ता नदीमा जाँदा बालुवा र ठूला ठूला ढुंगा आएर ठोकिने भएर उद्धारकर्ता आफै जोगिएर बेपत्ताको खोजी गर्नुपर्ने अवस्था छ,’ पत्रकार बोहोरा बताउँछन् । कर्णालीको यो जीप दुर्घटनापछि फेरि एउटा बहस सतहमा आएको छ । प्लेन÷हवाईजहाज चढ्ने यात्रु र गाडी , बस , जीप चढ्ने यात्रुको जीवनको सम्बेदनशीलता । हवाईजहाज दुर्घटना भएको भए त्यसमा सरकारको चासो र चिन्ताका अतिरिक्त खोजी कार्यमा हुने तदरुकता र बस, जीप दुर्घटना हुदा सरकारको चासो र चिन्ता ।

मान्छेका जीवन एउटै हो, तर किन फरक कोणबण्ट हेरिन्छ भन्ने प्रश्न पनि कर्णाली जीप दुर्घटनाले फेरि एकपटक सतहमा ल्याईदिएको छ । त्यही स्थानमा हेलिकप्टर या प्लेन टुर्घटना भएको भए राज्यले सम्पूर्ण साधन स्रोत परिचालन गरेर भएपनि उद्दार कार्य करि सक्काईसकेको हुने थियो, यो तीन दिनको बीचमा । तर जीप दुर्घटनामा भने केही सिमित साधन स्रोत परिचालन गरेर मात्र राज्यले उद्दार कार्य गरिरहेको छ ।
यसले फेरि एकपटक राज्यको सम्वेदनशीलता माथी प्रश्न उठाएको देखिन्छ । कर्णाली आफैमा विकट क्षेत्र हो । अहिले दुर्घटना भएको क्षेत्रको सडक गत पुसमा मात्र ट्याक खोलिएको र चैतबाट मात्र जीप सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस