माडीका विद्यालयको खानेपानी सरसफाइ समीक्षा बैठक

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, १७ : २४
माडीका विद्यालयको खानेपानी सरसफाइ समीक्षा बैठक

माडी । माडीमा सञ्चालन भएको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरले युनिसेफ नेपालको सहयोगमा माडीका विद्यालयमा सञ्चालन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको हो । 

शिक्षा विकास समन्वय समितिका अध्यक्ष भूमिलाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल रहेका थिए । माडी नगर प्रमुख ढकालले माडीमा युनिसेफको सहयोगमा १९ विद्यालय नमुना बनेको बताउनुभयो । उहाँले माडीका अन्य विद्यालयहरुलाई पनि नमुना बनाइने बताउनुभयो । 

कार्यक्रममा अध्यक्षता गर्नुभएका इकाइ समितिका प्रमुख भूमिलाल सुवेदीले युनिसेफको कार्यक्रम सकिएको र अब माडी नगरपालिकाले नै विद्यालयहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता कायम गर्नुपर्ने बताउनुभयो । युनिसेफको सहयोगमा शिक्षा विकास समितिले माडीका १९ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम चलाएको थियो । माडीका १९ विद्यालयलाई पानी शुद्धिकरण फिल्टर, सामूहिक हात धुने, सुरक्षित स्थान, प्याड व्यवस्थापनको लागि इन्सिनेरेटर, अपाङ्गतामैत्री हेनरिल, अपाङ्गतामैत्री ¥याम उपलव्ध गराइएको शिक्षा विकास समन्वय इकाइकी शाखा अधिकृत जानकी बरालले बताउनुभयो । 
इकाइका प्राविधिक इन्जिनियर किरण सुवेदीले दुई वर्षसम्म युनिसेफको सहयोगमा माडीका १९ विद्यालयलाई नमुना बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वर्षको यस कार्यक्रमले विद्यालय परिवर्तन आएको छ, यसलाई अब माडी नगर र विद्यालयले निरन्तरता दिनुपर्छ, युनिसेफको कार्यक्रम सकिएको छ ।’

२ वर्षको अवधिमा ३९ लाखको लागतमा माडीका १९ विद्यालयलाई नमुना बनाउने काम भएको थियो । समीक्षा बैठकमा जनजीवन माविका प्रअ शोभाकर गौतम, माडी नगरपालिका शिक्षा शाखा सरिता सापकोटा, विद्यालयका फोकल शिक्षकलगायतले मन्तव्य दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस