कोपा अमेरिका कप : जापानमाथि चिलीको शानदार जित

एजेन्सी

मंगलबार, ०३ असार २०७६, ०९ : १९
कोपा अमेरिका कप : जापानमाथि चिलीको शानदार जित

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ । फरवार्ड एडुआर्डो भार्गासले २ गोल गरेपछि साविक विजेता चिलीले ४–० को जित दर्ता गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा चिलीले अग्रता लिएको थियो । मिडफिल्डर चार्ल्स अरान्गीजको पासमा एरिक पुल्गरले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औं मिनेटमा माउरिसियो इस्लाको पासमा भार्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे ।

८२ औं मिनेटमा एलेक्सिस सान्चेजले अरान्गिजको पासलाई सदुपयोग गर्दै जित पक्का गरे । त्यसको एक मिनेट नबित्दै सान्चेजको पासमा भार्गासले व्यक्तिगत दोस्रो गोल गरे । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन हुँदा भार्गास सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यस संस्करणमा पनि सुखद सुरुवात गरेका छन् ।यता जापानले रियल म्याड्रिडले यसै साता भित्र्याएका ताकेफुसा कुबोलाई ९० मिनेट मैदानमा उतारेपनि गोल गर्न सकेन । दुवै टोलीले उत्तिकै अवसर पाएपनि जापानले आक्रमणमा भने फितलो प्रदर्शन गरेको थियो । जापानले अब शुक्रबार बिहान हुने दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ । यस समूहमा उरुग्वेले पहिलो खेलमा इक्वेडरमाथि ४–० को नै जित दर्ता गरेको थियो ।
प्रतियोगिताअन्तर्गत बुधबार बिहान सवा ३ बजे बोलिभिया र पेरु तथा सवा ६ बजे ब्राजिल र भेनेजुएलाबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस