सौराहामा १२औं सौराहा खाना महोत्सव (फुड फेष्टिबल) हुने

विहीबार, ११ माघ २०७४, १३ : ०६
सौराहामा १२औं सौराहा खाना महोत्सव (फुड फेष्टिबल) हुने

चितवन । प्रणय दिवसको अबसर पारेर यही माघ २८देखि चितवनको रत्ननगर स्थित सौराहामा १२औं सौराहा खाना महोत्सव (फुड फेष्टिबल) हुने भएको छ ।

रेष्टुरेष्ट एण्ड वार एसोसिएसन नेपाल (क्षेत्रिय रेवान) र रेवान महिला समुह चितवनको आयोजना तथा क्षेत्रिय होटल संघ, युनाईटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समुह र साना पर्यटन व्यवसायी समुहको सह–आयोजनामा महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

माघ २८देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औं संस्करणको महोत्सवको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिख खाना प्रदर्शन हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रेग्मीले प्रणय दिवस पारेर आयोजना गरिएको महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेष्टुरेष्टहरुमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गरे । सौराहामा यो समय पर्यटकको मौसम नहुनेभएकाले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवको टिकट विक्रिबाट आएको आम्दानी मध्ये १० बृद्धबृद्धा र अपांगलाई तथा अर्काे १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने क्षेत्रिय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

यस्तै ४० प्रतिशत रकम घुम्ति शौचालन निर्माणका लागि, ५ प्रतिशत सौराहाको सरसफाईलाई र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने गिरीको भनाई छ ।

महोत्सवमा कुल रु ७० लाख आम्दानी हुने र ५५ लाख खर्च हुने तथा दैनिक ३० हजार बढी पर्यटक आउने अनुमान गरिएको क्षेत्रिय रेवान चितवनका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु सहित स्थानिय कला संसकृति प्रदर्शन गरिने जनाईएको छ ।

महोत्सव अवधिभर साँगितिक कार्यक्रम बाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिला वीच म्यूजिकल चेयर, बालबालिका बीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला श्रृंगार प्रतियोगिता लगायत कार्यक्रम राखिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस