१३ जना सवार भारतीय वायुसेनाको विमान चिनियाँ सीमा नजिकै पुगेपछि सम्पर्कविहिन

एजेन्सी

मंगलबार, २१ जेठ २०७६, १२ : ४९
१३ जना सवार भारतीय वायुसेनाको विमान चिनियाँ सीमा नजिकै पुगेपछि सम्पर्कविहिन

भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी अहिलेसम्म जारी छ । यसका लागि थल सेनाको पनि मद्दत लिइरहेको बीबीसीले बताएको छ ।  

वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट हराएको थियो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार रातभारी खोजी अभियान चलिरहेको छ ।

यो खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

यसबाहेक भारतीय वायुसेनाका विभिन्न अन्य सरकारी र सिभिल एजेन्सीको मद्दत पनि लिइएको छ । वायुसेनाका प्रवक्ताका अनुसार रातभरी विभिन्न समूहले खोजी गरिरह्यो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले भाइस चिफ एयर मार्शल राकेश सिंह भदौरियासँग कुरा गरेर खोजी अभियानबारे जानकारी लिइरहेको बताए ।

१३ व्यक्तिसहित असमको जोरहाटबाट उडान भरेको एएन–३२ विमानको ३५ मिनेटपछि नै रडारबाट सम्पर्क टुटेको थियो । भारतीय सेनाका प्रवक्ता विंग कमान्डर रत्नाकर सिंहका अनुसार विमानमा चालक दलका आठ सदस्यसमेत १३ व्यक्ति सवार थिए । उनीहरु सबै वायुसेनासँग सम्बन्धित भएको बताइन्छ ।

प्रवक्ताका अनुसार विमानले जोरहाटबाट दिउँसो १२ बजेर २५ मिनेटमा अरुणाञ्चल प्रदेशको मेचुका एडभान्स ल्याण्डिङ ग्राउन्डका लागि उडान भरेको थियो तर केही समयपछि नै विमानको सम्पर्क टुट्यो ।

विमानको एयर ट्राफिक कन्ट्रोल अर्थात् एटीसीसँग अन्तिम सम्पर्क दिउँसो एक बजे भएको थियो । एएन ३२ अर्थात् एन्तोनोव ३२ विमान सैन्य सरसामान बोक्ने विमान हो । भारतीय वायुसेनाले यसलाई सन् १९८४ देखि प्रयोग गरिरहेको थियो । यसलाई युक्रेनको एन्तोनोव स्टेट कर्पोरेशनले डिजाइन गरेको हो ।

एएन ३२ लाई विश्वासिलो विमान मानिन्छ र भारतीय वायुसेनाले  आफ्ना विभिन्न अभियानमा यसको प्रयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस