‘म विगतमा समलिङ्गी थिएँ, उपचार गरेर ठीक भएँ’ : फिलिपिन्स राष्ट्रपति

एजेन्सी

सोमबार, २० जेठ २०७६, १२ : ३०
‘म विगतमा समलिङ्गी थिएँ, उपचार गरेर ठीक भएँ’ : फिलिपिन्स राष्ट्रपति

एजेन्सी । फिलिपिन्स राष्ट्रपति रोद्रिगो दुतेर्तेले एक भेलालाई सम्बोधन गर्ने क्रममा आफू ‘विगतमा समलिङ्गी भएको’ तर आफैले ‘उपचार’ गरेर ठीक भएको बताएका छन् ।

विभिन्न समय उट्पट्याङ अभिव्यक्ति दिइरहने दुतेर्तेले विहिबार टोकियोमा यो अभिव्यक्ति दिएका हुन् । जापानको भ्रमणमा रहेको दुतेर्तेले त्यहाँको फिलिपिनो समुदायको भेला सम्बोधन गर्ने क्रममा यो कुरा भनेका थिए ।

सो कुरा भन्नु अघि उनले विपक्षी नेता एन्टोनियो ट्रिल्लान्सलाई समलिङ्गी रहेको आरोप लगाएका थिए । दुतेर्तेले आफूले एन्टोनियोको समलिङ्गीपना महसुसनै गर्न सक्ने भन्दै त्यसको कारण खुलाउँदै भने, ‘मेरी पूर्व श्रीमती एलिजावेथ जिम्मरम्यानसँग विवाहित रहदाँ म पनि ‘अलि–अलि समलिङ्गी थिएँ ।’

त्यसपछि उनले अगाडि बोल्ने क्रममा वर्तमान श्रीमती हनीलेट एभान्सेनासँग  भेट भएपछि समलिङ्गीपन समाधान गरेको बताए ।

‘त्यसपछि म पुनः पुरुष भएँ ! सुन्दर महिलाहरुको सहयोगले म ठीक भएँ,’ दुतेर्तेले भने ,‘त्यसपछि मलाई ह्यान्डसम पुरुषहरुले तान्न छाडे । अहिले म सुन्दर महिला तर्फ आकर्षित हुन्छु ।’

यस अघि दुतेर्तेले विभिन्न समयमा समलिङ्गी समुदायलाई लक्षित गरेर आपत्तीजनक टिप्पणी गर्ने गरेका थिए । उनले आफूलाई विरोध गर्नेहरुलाई समलिङ्गी बिल्ला लगाउने गरेका छन् ।

सन् २०१६ मा दुतेर्तेले एक भाषणका क्रममा फिलिपिन्सका लागि अमेरिकी राजदुतलाई ‘गे सन अफ वि**’ भनेका थिए । उक्त विषय अमेरिकी राजदूतले अमेरिकास्थित फिलिपिन्सका दुतावासमा ध्यानाकर्षण गराएका थिए ।

त्यसको अर्को वर्ष मार्चमा दुतेर्तेले म्यानमारमा बसोबास गर्ने फिलिपिनोलाई सम्बोधन गर्ने क्रममा आफू समलिङ्गी विवाहको पक्षमा नरहेको बताएका थिए । उनले फिलिपिन्स क्यालोलिक बहुल राष्ट्र भएकाले महिला र पुरुषबीचको बाहेक अन्य विवाह स्वीकार्य नहुने टिप्पणी गरेका थिए ।

तर त्यही वर्षको अन्त्यमा उनले पुनः कुरा फेरेका थिए । एलजीबीटीआई समुदायको एक सम्मेललाई सम्बोधन गर्ने क्रममा दुतेर्तेले भनेका थिए ,‘तपाईंहरु विरुद्ध कुनै दमन हुने छैन र समाजमा तपाईंको महत्त्वलाई स्वीकार गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस