फिलिपिन्सका राष्ट्रपतिले भाषणका बेला चुमे पाँच महिलालाई

एजेन्सी

आइतबार, १९ जेठ २०७६, १० : ३९
फिलिपिन्सका राष्ट्रपतिले भाषणका बेला चुमे पाँच महिलालाई

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिग्रो दुतेर्तेले जापानको स्टेजमा भाषणका बेला पाँच महिलालाई चुम्बन गरेका छन् । यतिबेला उनकी श्रीमती स्टेजमा उनीसँगै थिइन् । दुतेर्तेले यी महिलाका कारण नै उनको समलैङ्गिकताको उपचार हुन सकेको बताएका छन् । उनको यो बयान फिलिपिन्सका विपक्षी नेता एन्टोनियो त्रिलानेसमाथि केन्द्रीत भएको अनुमान गरिन्छ । दुतेर्तेले त्रिलानेसको अभियानले उनी समलिङ्गी भएको दर्साउने आरोप लगाउने गर्छन् ।

दुतेर्ते जापानमा बस्ने फिलिपिन्सका जनतालाई सम्बोधन गरिरहेका थिए । यहाँ विपक्षी नेतामाथि निशाना साँध्दै उनले भने, ‘म र त्रिलानेस कुनै बेला एउटै थियौं, तर महिलाका कारण म ठिक भएँ । म पुनः एक पुरुष बनेको छु ।’

उनले स्टेजमा उभिएका केही महिलालाई चुम्बनसमेत गर्न आग्रह गरे ।मिडिया रिपोर्टका अनुसार दुतेर्तेले अविवाहित तर उमेरदार महिलालाई चुम्बन गर्न चाहेको बताए । त्यसपछि उनले एक युवतीतर्फ इशारा गरे । उनको इशारापछि पाँच महिला स्टेजमा उपस्थित भए र दुतेर्तेलाई चुम्बन गरे । भाषण सिद्धिएपछि राष्ट्रपतिले ‘अरु कोही मलाई चुम्बन गर्न चाहनुहुन्छ’ भनेर सोधे तर कोही महिला स्टेजमा उत्रिएनन् । यो घटनाको भिडियो क्लिप सोसल मिडियामा निकै चर्चित भइरहेको छ ।

स्टेजमा आफ्नो व्यवहारका लागि विवादमा आइसकेका छन्ः

दुतेर्ते यसअघि पनि थुप्रै पटक स्टेजमा आफ्नो व्यवहार र बयानका कारण विवादमा आइसकेका छन् । यसैवर्ष उनले एक भाषणमा बाइबलको विरोध गरेका थिए । साथै भगवानका लागि आपत्तिजनक शब्दको प्रयोग गरेका थिए । त्यसपछि क्याथोलिक बहुसंख्यक देश फिलिपिन्समा विवाद भयो । विवाद चर्किएपछि यदि कसैले भगवान छन् भनेर पुष्टि गर्न सके आफूले तुरुन्त राजीनामा दिने भन्दै पन्छिए । 

प्रतिक्रिया दिनुहोस