राजधानी काबुलमा कार बम आक्रमण, कम्तीमा चार जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १७ जेठ २०७६, १७ : २७
राजधानी काबुलमा कार बम आक्रमण, कम्तीमा चार जनाको मृत्यु

फाईल फोटो

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिनुभयो । यो घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ ।
स्थानीय समय अनुसार बिहान ८.४० मा भएको उक्त घटनाका घाइतेको उद्धार कार्य जारी रहेको पनि बताउनुभयो । निकै शक्तिशाली बम बिस्फोट भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने प्रवक्ता राहिमीले जानकारी दिनुभयो ।
विगत दुई दिनभित्र काबुलमा बिस्फोट गराइएको यो दोस्रो घटना हो । बिहीबार सैनिक कलेजलाई लक्षित गरी भएको बिस्फोटमा सात जनाको ज्यान जानुका साथै अरु छ जना घाइते भएका थिए ।
उक्त दुबै घटनामा कसैले हालसम्म जिम्मेवारी लिएका छैनन्, तर अफगानिस्तानमा सक्रिय तालिबानी समूहको नै घटनामा संलग्नता रहेको आशंका गरिएको छ । (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस