म्याग्दी साक्षर जिल्ला घोषित

मंगलबार, ०९ माघ २०७४, ०९ : ५१
म्याग्दी साक्षर जिल्ला घोषित

म्याग्दी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरे ।

कार्यक्रममा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका ४५ वटै वडा र छवटा स्थानीय तह साक्षर बनेपछि सिंगो जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गरिएको बताए ।
म्याग्दी नेपालको ३९ औँ साक्षर जिल्लाका रुपमा घोषणा भएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस