Safal Khabar - राजालाई नै चुनौति दिने मदन भण्डारीको त्यो चर्चित भाषण...
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
सन्र्दभ : २६ औं मदन आश्रित स्मृति दिवस

राजालाई नै चुनौति दिने मदन भण्डारीको त्यो चर्चित भाषण...
शुक्रबार, ०३ जेठ २०७६, ०८ : २२
राजालाई नै चुनौति दिने मदन भण्डारीको त्यो चर्चित भाषण...

काठमाडौं । २०४७ को बहुदल आउनुभन्दा तत्कालिन एमाले पार्टीका केही मान्छेले मात्र मदन भण्डारीलाई चिन्थे । जब बहुदल आयो र भूमीगत राजनीति गर्ने भण्डारी खुला राजनीतिमा आए, त्यसपछि उनको चर्चा एकाएक बढ्ेको हो । उनको भाषण सुन्न टाढाटाढाबाट समेत मान्छे जम्मा हुन थाले ।

मदन भण्डारीको भाषण भन्नासाथ एक घण्टामै हजारौं जनता खुलामञ्चमा जम्मा हुन्थे । भाषणका हरेक बुँदाबुँदामा पररर ताली र सुइय सिटी बज्थ्यो । तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता थिए भण्डारी । उनको भाषण जादुमयी हुन्थ्यो । सरल, मिठासपूर्ण र अनुप्रासयुक्त । ठेट भाषासँगै कठोर राजनीतिक शब्दावली उनको भाषणमा हुन्थे । 

मदन मण्डारीले भाषणका बेला जनताकै कुरा गर्थे, जनताका कुरा नै सुन्दै हिँडथे । विश्व प्रसिद्ध अमरिकी पत्रिका न्यूजविकले त प्रसंशा गर्दै ‘कार्ल माक्र्स लिभ इन’ नेपाल भनेरै उनको अन्तरर्वार्ता नै छापेको थियो । नेपालमा धेरै नेता जन्मिए तर न्यूजविकमा छापिने नेता मदन भण्डारी मात्रै हुन् ।

nic asia
Yeti Diistillery

भण्डारी र तत्कालिन एमालेको संगठन विभाग प्रमुख रहेका जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो । यो निधनलाई एमालेले अहिलेसम्म पनि हत्या नै भन्दै आइरहेको छ ।

तत्कालिन एमालेका शीर्ष नेताहरु पटक पटक सरकारको प्रमुख नेतृत्वमा पुगे । अहिले भण्डारी पत्नी विद्या नै राष्ट्रपति छिन् । तर पनि यो रहस्यमय हत्याकाण्डको खोजविन हुन सकेको छैन् । गत वर्ष नेपालका दुई ठूला कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसकै अवसर पारेर पार्टी एकता गरेका थिए । आज त्यो एक वर्ष पूरा भएको छ ।

पार्टी एकता र मदन आश्रितको २६ औं स्मृति दिवस नेकपाले मदन नगर बल्खुमा आज विशेष कार्यक्रम गरी मनाउन लागेको छ ।

२०४७ चैत ५ मा काठमाडौंमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालिन राजालाई चुनौति दिएका थिए ।  
 
त्यो चुनावीसभामा मदनले गरेको भाषणको केही अंशः यस्तो थियो : 

हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झैता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन् । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं । नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो । अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ?
अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न ग‍¥यो भन्ने पनि त मनमा लाग्ला । किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।

अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।

तर पनि दुनियाँलाई थाहा छ क ि२०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुप¥यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।

त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुप¥यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्‍यो । 

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो की हामीले यसबेला राजासँग सम्झौता गर्नुप¥यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए, भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं । 

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् । आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुप¥यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् । यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र ? यसो हुनाले यो पारस्परिक कुरा हो ।

यो पनि 
कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट मदन भण्डारी
 

प्रतिक्रिया दिनुहोस