दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै  चितवन राष्ट्रिय निकुञ्ज

विहीबार, ०२ जेठ २०७६, १५ : १६
दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै  चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रको ट्याम्पल टाइगर नजिकै ३५ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । ताल परियोजनाको सहयोगमा रु १८ लाख खर्च गरेर घाँस व्यवस्थापन गर्न शुरु गरिएको हो । 

यसैगरी निकुञ्जको पश्चिम क्षेत्रमा रहेको खोरिया मुहान र टाइगर टप क्षेत्रमा २५ दशमलव पाँच हेक्टरका दरले ५१ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ‘जेडएसएल’ नामक दाताको रु २५ लाखको सहयोगमा सो क्षेत्रमा घाँसे मैदान व्यवस्थापन थालिएको हो । 

निकुञ्जको नियमित कार्यक्रमअन्तर्गत विभिन्न १५ ठाउँमा ८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भएको छ । एकपटक घाँसे मैदान व्यवस्थापन गर्दा एक हेक्टरमा रु ५० हजार हाराहारी खर्च हुने गरेको छ । घिमिरेका अनुसार अग्ला ठूला ढड्डी फाँड्ने, घाँसलाई अतिक्रमण गर्ने झार र बुट्यान उखेल्ने, अग्ला घाँस काट्ने जस्ता काम व्यक्तिमार्फत गरिँदै आएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार बजेट अभावमा आवश्यक मात्रामा घाँस व्यवस्थापन गर्न कठिन हुने गरेको छ । निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफलमा घाँस रहेको छ । जसमध्ये एक हजार हेक्टर क्षेत्रफल व्यवस्थापन गर्नुपर्ने भए पनि हरेक वर्ष २०० हेक्टर हाराहारी मात्र व्यवस्थापन हुँदै आएको छ । जसका कारण निकुञ्जभित्रका वन्यजन्तु घाँस खोजीका लागि बस्ती पस्ने गरेका छन् 

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरूङ्गी र ४५ प्रजातिका जलथल तथा घस्रने प्राणीसँगै १०० भन्दा बढी जातका माछा पाइन्छ । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गुर बाँदर आदि पर्दछन् । (रासस) 

प्रतिक्रिया दिनुहोस