वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

विहीबार, ०२ जेठ २०७६, १३ : ००
वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

डोटी । जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ । 

जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी करीब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले दिनुभएको जानकारीअनुसार यहाँका सामुदायिकतर्फका कम्तीमा पनि ४५ र कबुलियतीतर्फका दुई तथा अन्य केही सरकारी वनमा ठूलो आगलागी भइरहेको छ । वनमा लागेको आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन नसकेको सहायक वन अधिकृत डिसीले बताउनुभयो । 

डोटीमा ३६६ सामुदायिक वन र १९६ कबुलियती वन रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका– १ स्थित रानिवन सामुदायिक वनका धीरबहादुर मल्लले बताउनुभयो ।        आगलागीकै कारण यहाँका सल्ला जातका आला रुख धमाधम ढल्न थालेका छन् । आगलागीका कारण यहाँका वनमा करोडौँको नोक्सानी भएको जोरायल गाउँपालिका– २ धारापानीका स्थानीय तीर्थराज भण्डारीले बताउनुभयो । आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । 
अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, श्वास फेर्न अप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको शिखर नगरपालिका–२ का स्थानीय शङ्करबहादुर महराले बताउनुभयो । 
यहाँका वनमा वर्षेनी आगलागी हुने गरेको छ । वनमा कसले र किन आगो लगाउँछ त्यो विषयमा अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसक्दा जिल्लामा वर्षेनी आगलागी हुँदै आएको केआइसिंह गाउँपालिकाका स्थानीय रामबहादुर लुहारले बताउनुभयो । 
जिल्लामा बाक्लो तथा घना जङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउँमा सर्ने गरेका कारण पनि यहाँका जङ्गल आगलागीमा परी वर्षेनी सखाप हुँदै आएको रानीवन सामुदायिक वनका हरिलाल विकले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस