१५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र बाँड्ने तयारी

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १३ : ४७
१५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र बाँड्ने तयारी

– उर्गेन तामाङ

चितवन । आगामी असारमा मुलुकका १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने गरी तयारी भइरहेको छ । चितवनसहितका ती जिल्लामा अहिले चरणवद्ध रुपमा तयारी भइरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ । 
यसवर्ष १५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र वितरण गर्ने विभागको लक्ष्य छ । चितवनसहित झापा, संखुवासभा, महोत्तरी, ललितपुर, रसुवा, सप्तरी, स्याङ्जा, तनुहँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर जिल्लाका नेपालीलाई वितरण गरिने विभागले जनाएको छ । जसका लागि विभिन्न ५ सय स्थानबाट परिचय पत्र वितरण गरिने छ ।

यस्तो छ तयारी 
पहिलो चरणको तयारी अन्तर्गत १२ जिल्लामा विभिन्न सरोकारवाला पक्षसँग छलफल, अन्तरक्रिया लगायतका काम सम्पन्न भएको छ भने कञ्चनपुर, रुसुवा र जुम्लामा छलफल गर्न बाँकी नै रहेको विभागले जनाएको छ । जेठ महिनाभित्र नागरिकको सम्पूर्ण विवरण संकलन सकेर असार १५ भित्र राष्ट्रिय परिचयपत्र वितरण गर्न सक्ने गरी काम भइरहेको विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।
अबको एक हप्ताभित्र कम्प्युटर अप्रेटर, प्राविधिकहरु जिल्लामा पुग्ने छन् । उनीहरुलाई काठमाडौंमा तालिम दिइएको छ । परिचयपत्र वितरण हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा स्टेसन स्थापना गरी प्राविधिकहरुले नागरिकको विवरण संकलन गर्ने छन् । नागरिकको जैविक विवरण (बायोमेट्रिक) र व्यक्तिगत विवरण संकलन गरिने छ । 
विवरण संकलनका लागि १५ जिल्लामा ९० भन्दा बढी प्राविधिक ख्टिने विभागले जनाएको छ । एउटा जिल्लामा कम्तीमा ६ जना प्राविधिक खटिने छन् । यस्तै आगामी वर्ष अन्य २५ जिल्लामा वितरण गर्ने तयारी छ । जसका लागि विभिन्न छलफल, अन्तरक्रिया लगायतका आवश्यक तयारी सुरु गरिने छ । बाँकी जिल्लामा अर्को वर्ष वितरण गर्ने लक्ष्य छ । 

आगामी वर्ष अनलाईनबाट 
विभागले अर्को वर्षदेखि राष्ट्रिय परिचय पत्र लिने नेपाली नागरिकले अनलाईनबाटै फारम भर्न पाउने छन् । तर केही शर्तहरु पनि राखिने छ । देश तथा विदेशमा जहाँ रहे पनि अनलाईन फारम भर्न सक्ने छन् भने उनीहरुले बायोमेट्रिक भने सम्बन्धित स्थानमै, अथवा विदेशमा रहेकाले नेपालमै आउनु पर्नेछ । अनलाईन प्रणालीले विभिन्न कारणले छुटेका र विदेशमा रहेकाहरुलाई फाईदा पुग्नेछ भने सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने विभागको लक्ष्य पूरा हुनेछ ।  

संकलित विवरण सुरक्षित
काठमाडौंमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली स्थापना गरिरहेको छ । ती प्रणालीमा विवरण संकलन गरेर सुरक्षित रुपमा भण्डारण गर्ने र राज्यको सेवा प्रवाहमा आवद्ध गराउने भएकाले सबै नागरिकका लागि महत्वपूर्ण हुने काफ्लेले बताए । उनले यो प्रणाली राष्ट्रिय पहिचान र सेवा प्रवाहको आधार भएकाले आप्mनो पहिचानलाई स्थापित गर्न आग्रह गरेका छन् । 
उनले संकलन गरिएको विवरण सुरक्षित हुने भएकाले दुरुपयोग हुने, चुहावट हुने सम्भावना नरहेको दाबी गरे । यदि कसैले दुरुपयोग गरेको पाइए १० वर्ष जेल र ५ लाख जरिवाना हुनेछ । 
राष्ट्रिय परिचय पत्र वितरण गरिसकेपछि नागरिकता विस्थापित हुनेछ भन्ने धारणा तय गर्नु हतारो हुने महानिर्देशक काफ्लेको भनाई छ । उनले भने ‘परिचय पत्र र नागरिकताको आआप्mनै विशेषता छ । नागरिकतालाई विस्थापित गर्न परिचय पत्र वितरण गरिएको होइन ।’ 

विदेशीलाई पनि परिचयपत्र
नेपालमा आउने विदेशीलाई पनि परिचयपत्र दिने विषयमा छलफल भइरहेको विभागले जनाएको छ । लामो समय नेपालमा बस्ने विदेशीको निगरानीका लागि विशेष किसिमको परिचयपत्रको व्यवस्था गर्नेबारे छलफल भइरहेको महानिर्देशक काफ्लेको भनाई छ ।
राष्ट्रिय परिचय पत्र वितरण गत बर्ष मंसिर ३ गते पाँचथरबाट सुरु भएको थियो । सुरुवाती चरणमा पाँचथरका ६० हजार नागरिकलाई वितरण गरिएको थियो । सिंहदरबारमा कार्यरत कर्मचारीलाई पनि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस