Safal Khabar - कार्ल मार्क्सको दर्शनको सार र समाजवादबारे उनको चिन्तन
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)
आज कार्ल मार्क्सको जन्मदिन

कार्ल मार्क्सको दर्शनको सार र समाजवादबारे उनको चिन्तन
आइतबार, २२ बैशाख २०७६, १४ : ५६
कार्ल मार्क्सको दर्शनको सार र समाजवादबारे उनको चिन्तन

कार्ल मार्क्सको जन्म ५ मई १८१८ दिन भएको हो । उनी एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन् । मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो ।
कार्ल मार्क्ले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्, ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।’ मार्क्सले तर्क दिएका छन्, ‘पूरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ, जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ, त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ । अनि, राज्यविहीन, वर्गहीन साम्यवादी समाजको निर्माण हुनेछ ।

मार्क्सको संक्षिप्त जीवनी
कार्ल मार्क्सको जन्म जर्मनीको प्रसिया राज्यको लोअररिन प्रान्तको ट्रियर भन्ने ठाउँमा भएको हो । उनका पिता हेनरिक मार्क्स एक सफल वकिल थिए, जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए । उनकी आमाको जन्मथलो होल्याण्ड थियो, मातापिता दुवै यहुदी थिए । तर, मार्क्स जन्मनुभन्दा एक वर्षअघि एउटा चर्चमा बख्ति लिएका थिए ।

मार्क्सले १९ जून १८४३ मा प्रसियाका ब्यापारीकी छोरी जेनी वोन वेस्ट फ्यालेनसित बिहे गरे ।    मार्क्स र जेनीका सात जना सन्तानहरु भए । तर, गरीबी कारण तीन जना मात्र जीवित रहे।  मार्क्सको आयको प्रमुख श्रोत फ्रेडरिक एंगेल्सबाट पाएको सहयोग मात्र थियो । मार्क्सको परिवार चरम गरीबीमा थियो । तर, उनले आफ्नो लक्ष्यप्रतिको सङ्कल्प कहिल्यै भुलेनन् । डिसेम्वर १८८१ मा पत्नी जेनीको मृत्युपछि मार्क्स पनि बिरामी भए । यस कारण जिन्दगीका अन्तिम १५ महिना बिरामी अवस्थामा नै बिताए । १४ मार्च १९८३ का दिन मार्क्सको लण्डनमा निधन भयो । उनको परिवार र साथीभाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लण्डनमा नै गरे । मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ, ‘विश्वभरिमा श्रमिक एक होऔं ।’ इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् ।

Yeti Diistillery
nic asia

कार्ल मार्क्सको शिक्षा
मार्क्सका मातापिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए। सन् १८३५ मा ट्रियर जम्नाजियम स्कूलबाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बुन विश्वविद्यालयमा भर्ना भए । उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे । तर, उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भन्दै कानूनमा भर्ना गरिदिए । सामाजिक अगुवा भएका कारण बोनमा उनले कम अंक प्राप्त गरे । त्यसपछि उनका पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे, जहाँ दर्शनशास्त्र र इतिहासको अध्ध्ययन हुन्थ्यो । यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे । उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएको छ।  तर, पछि गएर उनी नास्तिक बने ।

समाजवादबारे मार्क्सकाे चिन्तन
पूँजीजीवीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नका लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ । अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरानिषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन् । पूँजीजीवी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो । उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ । सुरक्षा गर्न चाहन्छन् । तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र । उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन् । जुन संसारमा पूँजीपति वर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ । पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीका रूप दिन्छ । आफ्नो यस प्रणालीलाई कार्यान्वित गर्न र यसप्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् । तर, उसले यस समाजसम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणालाई तिलाञ्जली देओस् भन्ने मात्र माग गर्दछ । 

कुनै राजनीतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्को कम व्यवस्थित तर बढी व्यावहारिक रूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ । किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन । यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ ।

तर, उसको तात्पर्य चाहिँ उत्पादन सम्बन्धहरूको आपसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधारसँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन । यस हुनसक्ने सबैभन्दा बढी कुरा यत्तिकै मात्र हो कि यसले पूँजीजीवीवर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ । पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ, जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।

स्वतन्त्र व्यापार – मजदुरवर्गको हितका लागि “संरक्षण शुल्क मजदुरवर्गको हितका लागि” “जेल सुधार मजदुरवर्गको हितका लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो । पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवीवर्गको समाजवाद सन्निहित रहेको छ ।

आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद – हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं, जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो । (बाब्योफ (३५) र अन्य लेखकहरूका कृतिहरू) । आफ्ना वर्गीय हितहरूको प्राप्तिका लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सर्वाधिक उत्तेजनाको समयमा भएका थिए, जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदैथियो ।

स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे । सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सिर्जना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ । यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ।

सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।

निसन्देह, यी पद्धतिका प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए । किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनीतिक आन्दोलन देखेका थिएनन् ।

वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ । त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिका लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन् । तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन् । जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्। उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफ्ना व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनुपर्छ, मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नुपर्छ।

एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाकाअनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ । उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुड्डिन्छ । हुन त उनीहरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरूको रक्षा गरिएको छ । उनीहरूका लागि सर्वहारावर्गको अस्तित्व नै सर्वाधिक पीडितवर्गको रूपमा मात्र छ ।

किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तरविरोधहरूबाट धेरैमाथि रहेको ठान्छन् । उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन् । त्यसैले उनीहरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन् । उनीहरूको विचारअनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्वश्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ ।

उनीहरू जुनसुकै राजनीतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन् । अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशका निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन् । भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ ।

त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो । किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन् । यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन् । त्यसैले गर्दा मजदुरहरूको प्रबोधनका लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन् ।

भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको सञ्चालनमा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यसबेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो । त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन् ।

ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ । जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ । त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन् ।

सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन् । यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन् । उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मक रूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया कायम गर्ने मीठो सपना देख्दछन् र यी सबै हावाका महलहरू निर्माण गर्नका लागि उनीहरूलाई पूँजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ ।

बिस्तार बिस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन् । अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन् । यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनीतिक आन्दोलनको उग्रविरोध गर्दछन् । उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो ।

कार्ल मार्क्सको दर्शनको सार
मार्क्सको शिक्षाको प्रमुख सार हो – समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसकेपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ? यसबारे संक्षिप्तमा चर्चाा गरौं।

सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गरेका थिए । सन् १८४८ मा प्रकाशित मार्क्स र एङ्गेल्सको कृति ‘कम्युनिष्ट घोषणापत्र’ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि मार्क्सको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ ।

यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो । (१) सन् १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१) सम्म, (२) पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, (३) रुसी क्रान्तिपछिको अवधि । यसका साथै विश्वको एकतिहाई भू–भागमा वैज्ञानिक समाजवादी व्यवस्थाका साथ हसिँया हथौंडाको झण्डा फहरायो ।

पहिलो युग (१८४८–१८७१) – यसको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन। समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो। त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग धेरै मिल्दाजुल्दा थिए – ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई ‘जनता’, ‘न्याय’ र अधिकारु जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्धारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो।

सन् १८४८ को क्रान्तिले प्राग–मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्‍यो। विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए। सन् १८४८ को जुनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ। कुनै पनि प्रतिक्रियावादी तत्त्वभन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ।

काँतर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ। सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीँ मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तीहरू खोक्रो वकवाससिद्ध हुन्छन् । पेरिस कम्युन (१८७१) ले यी बुर्जुवा सुधारहरूको विकास खत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।

अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पूर्वनिर्धारित पूँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८–१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग–मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४–१८७२) र जर्मन सोसल डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२–१९०४) – आफ्नो ‘शान्तिपूर्ण’ चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ। पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए। पूर्व यस्ता क्रान्तिहरूका लागि अझ कलिलै थियो, पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नका लागि ‘शान्तिपूर्ण’ तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् ।
मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ। सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूका लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ। इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ। भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ।

महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनका लागि पूँजीवादी दासताका विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक सामाजिक शान्ति अर्थात् दास र मालिकहरूबीचको शान्ति कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ती दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र ‘सहानुभूतिकर्ता’ बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले ‘सामाजिक शान्ति’ र ‘जनवाद’अन्तर्गत आँधीबेहरीको अनावश्यकताजस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंसा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको ‘विपरीत प्रतिछाँया’को युगमा बाँचिरहेका छौं ।

त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता ‘सभ्य’ हिंस्रक जनावरहरू आफ्ना दाह्रा किट्दैछन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पूरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।

जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पूँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।

तेस्रो युग (सन् १९०४ पछि) – ८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शहरूका लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रा लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ । एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । यूरोप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।

एसियापछि यूरोपमा पनि हलचल सुरु हुन थालेको छ । तर, यो एसियाली हलचल होइन । सन् १८७२–१९०४ को ‘शान्तिपूर्ण’ युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षका लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनीजस्तो कट्टरू बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनीतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो सामाजिक शान्तिू ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।

मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादका लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर, विश्व कम्युनिष्ट आन्दोलनमा वैज्ञानिक समाजवादको स्थापनाका लागि नयाँ–नयाँ चुनौतिहरु सतहमा आएका छन् । तिनै विश्वप्रख्यात दार्शनिक तथा सर्वहारा वर्गका अगुवा मार्क्सको निधन १४ मार्च १८८३ का दिन लण्डनमा भयो ।

यो पनि

मध्यमवर्ग कायर हुँदा क्रान्ति ढिलो हुन्छ : कार्ल मार्क्स (ऐतिहासिक अन्तर्वार्ता)

प्रतिक्रिया दिनुहोस