मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १२ : १५
मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

काठमाडौँ । सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले हात पारेका छन् ।
पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो भएका उमेशले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच तौल समूहका उत्कृष्ट बडिबिल्डरलाई पछि पार्दै शनिबार  च्याम्पियन बनेका हुन्।

प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो । ५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिर, ज्याठाका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस, रुपन्देहीका थापा मगर, ७० केजीमा नेपाली सेनाका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस, ढल्कोका नरेश मालाकार पहिलो भएका थिए ।

ओभरअल विनर भएका उमेशले मिस्टर हिमालयको उपाधि, ब्यानेट र २ लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोश्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेश्रो भए ।

यस्तै पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोश्रो तथा डिभाइनका अंकितमान शाक्य तेश्रो बने ।

महिला एथलेटिक फिजिकमा व्यायम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोश्रो तथा पावर हाउसकी पूजा श्रेष्ठ तेश्रो स्थानमा रहे । चारै विधामा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए ।

पुरुष स्पोर्ट्स फिजिकमा ग्रुभ फिट्नेसका प्रमोद राई पहिलो, पम्पिङ आइरनका सन्तोष विक दोश्रो र जिमखानाका सुखदेव कार्की तेश्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रममा वर्ल्ड च्याम्पियन महेश्वर महर्जनलाई पनि सम्मान गरिएको थियो । अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस