स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको ठूलो योगदान : महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १४ : ११
स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको ठूलो योगदान : महानगर प्रमुख रेनु दाहाल

चितवन । जापान गुजेरियो कराते डो केन्वाकाई चितवनको आयोजनामा कराते प्रतियोगिता सम्पन्न भएको  छ । शनिवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलपुरमा आयोजित फाइनल खेलका विजयीहरुलाई मेडल तथा सम्मानपत्र प्रदान गर्दै स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । 

खेलको माध्यमबाट राष्ट्रको नाम विश्व भरी पु¥याउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रमुख दाहालल खेलाडीहरुको वृद्धि विकास र उपयूक्त खेल वातावरण बनाउन राज्यले विशेष लगानी गर्नुपर्ने बताउनु भयो । सो अवसरमा प्रमुख दाहालले खेलले घर, समाज हुँदै राष्ट्रलाई नै अनुशासन, सदाचार र उच्च आत्मबल प्रदान गर्न सक्ने बताउँदै यसको विकास र विस्तारमा सबैको सामुहिक सक्रियता रहनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्चराख्न सधैँ लागिपरेको बताउनु भयो । 

उहाँले भरतपुरलाई खेल क्षेत्रको हबको रूपमा विकास गर्न योजनावद्ध ढंगले लागि परेको बताउनुभयो । दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा २० विगाहा जमिनमा एकेडेमी सहितको अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माण गरिरहेको बताउनुभयो । उहाँले यसलाई समयमै सम्पन्न गर्न सम्पूर्ण चितवनवासीको सक्रिय सहयोग र सक्रियताको अपेक्षा भरतपुर महानगरपालिकाले गरेकोे बताउनुभयो । 

प्रमुख दाहालले जापान गोजुरियो कराते डो  केन्वाई प्रतियोगितामा सहभागी भइ विजयी भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै विजयी खेलाडीहरुलाई बधाई दिँदै सुखद खेल जीवनको शूभकामना दिनुभयो । खेलमा आआफ्नै नियम र मर्यादा हुने भन्दै उहाँले त्यसलाई सधैँ आत्मासाथ गरेर अगाडि बढ्न सम्पूर्ण सहभागी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदश नम्बर ३ सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले खेलले राष्ट्रको गरिमा र गौरव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै खेलाडीहरुलाई इमानदार भएर खेलक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न आग्रह गर्नुभयो । सचिव सुवेदीले छिट्टै प्रदेश सरकाले सबै जिल्लाहरूमा खेलकुद समिति निर्माण गर्ने बताउँदै सबै जिल्ला र पालिकाहरूमा खेल स्वयम सेवक नियूक्त गरी सकेको बताउँदै ती स्वयमसेवकहरूले खेल र खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खल्ने विश्वास व्यक्त गर्नुभयो ।



सो अवसरमा नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष तथा चितवन उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कंडेल संघका केन्द्रिय प्रशिक्षक विशुन शिह खड्का, डो केन्वाइका केन्द्रिय अध्यक्ष विदुर खड्का, लगायतले खेल क्षेत्रको विकास र यसले समाजमा पार्ने सकारात्मक प्रभावहरूका बारेमा धारणा राखेका थिए । 

जापान गुजोरियो कराते–डोकेन्वाइ चितवनका अध्यक्ष तथा आदर्श युवा क्लव भरतपुरका उपाध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न समापन समारोहमा  देशभरिका विभिन्न उमेर समूहका महिला तथा पुरूष गरी ४५ वटा खेल भएको थियो । 

कार्यक्रमका संयोजक पुष्प आचार्यले खेल १९ गतेदेखि २१ सम्म चलेको र यस खेलमा विजयी समूह तथा खेलाडीहरूलाई ६५ वटा गोल्ड मेडल, ६५ वटा सिल्भर मेडल र ११० कास्यपदक प्रदान गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस