अफगानिस्तानमा सैनिक कारबाही : १७ तालिवान मारिए

एजेन्सी

बुधबार, २० चैत्र २०७५, १५ : ३८
अफगानिस्तानमा सैनिक कारबाही : १७ तालिवान मारिए

फाईल फोटो

फैजाबाद । अफगानिस्तानको उत्तरी क्षेत्र बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १२ जना मारिएका छन् । सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिवानका विरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ । 

बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १२ जना तालिवान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ता अब्दुल हादी जमालले जानकारी दिएका छन् ।  उक्त कारबाहीमा मारिएकामा दुई जना विदेशी नागरिक पनि परेका छन् । उनीहरु तालिवान समूहमा संलग्न हुन् या हैनन् भन्ने बारेमा भने अहिले नै केही नखुलेको सैनिक प्रवक्ताको भनाई छ । 

त्यस कारबाहीमा परी अरु १० जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ ।  यसैगरी प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको पूर्वी आचिन प्रान्तमा रहेका भनिएका यहाँका आइएस समूहका लडाकूका विरुद्धमा भएको हवाई कारबाहीमा परी सो समूहका पाँच जना लडाकू मारिएका बताइएको छ । 

उक्त क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले ड्रोनबाट हवाई कारबाही गरेको थियो । त्यस क्रममा अरु पनि कैयौँ लडाकू घाइते भएका समाचारमा उल्लेख गरिएको छ । 

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको आचिन जिल्लामा सो कारबाही गरिएको थियो । नान्गाहार प्रान्तका प्रान्तीय प्रमुखको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस