बारा–पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
रक्सौल–परवानीपुर अवरुद्ध, रक्सौल–वीरगन्ज सञ्चालन
भारतबाट विद्युत् आयात गरिरहेको रक्सौल–परवानीपुर (बारा) १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको छ भने तार चुँडिएको छ । यो प्रसारण लाइनमार्फत प्राधिकरणले आवश्यकताअनुसार ५० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको थियो ।
त्यस्तै, भारतबाट विद्युत् आयात गरिँदै आएको रक्सौल–वीरगन्ज ३३ केभी प्रसारण लाइन मर्मतपछि सञ्चालन भएको छ । यो लाइनमार्फत १२ मेगावाटसम्म विद्युत् आयात गरिँदै आएको छ । यसबाट आयात भएको बिजुली कलैया केन्द्रले वितरण गर्ने भए पनि हाल परवानीपुर–वीरगन्ज ६६ केभी अवरुद्ध भएकाले वीरगन्ज केन्द्रले वितरण गरिरहेको छ । यो लाइनबाट आएको विद्युत् अस्पताल, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर वितरण गरिएको छ ।
परवानीपुर–वीरगन्ज ६६ केभी सञ्चालन गर्न राति पनि काम
परवानीपुर–वीरगन्ज ६६ केभी डबलसर्किट प्रसारण लाइन पनि क्षतिग्रस्त भएको छ । यो लाइनअन्तर्गत जतिसक्दो चाँडो एउटा सर्किट सञ्चालनमा ल्याउने गरी मर्मत भइरहेको छ । ‘सोमबार राति अबेरसम्म भए पनि लाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले भने, ‘यो लाइन सञ्चालनमा आएपछि हेटौँडा सबस्टेसनबाट आउने नेपालकै विद्युत् वीरगन्जमा वितरण हुनेछ ।’
कलैया वितरण केन्द्रका १५ सय पोल ढले, १० दिनभित्र सञ्चालन गर्ने लक्ष्य
कलैया वितरण केन्द्रअन्तर्गत मात्र झन्डै १५ सय पोल ढलेको अनुमान केन्द्रका प्रमुख गजेन्द्रकुमार चौधरीको छ । उनले २० भन्दा बढी ट्रान्सफर्मरमा क्षति पुगेको बताए । तर, सदरमुकाम कलैयास्थित सबस्टेसनमा भने सोमबार नै चन्द्रनिगाहापुरस्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरी बजार क्षेत्रमा आपूर्ति गरिएको छ । कलैया केन्द्रअन्तर्गत ९७ हजार उपभोक्ता रहेकोमा ६० प्रतिशत विद्युत् सेवाबाट वञ्चित भएको चौधरीले बताए । ‘बाँसको झाङसमेत उखेल्ने गरी आएको हावाहुरीले वितरण लाइनका पोल नै टुक्राटुक्रा पारेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा त पोल कहाँ थियो भन्ने नामोनिसान भेटिँदैन ।’ उनले १० दिनभित्र वितरण लाइन मर्मत गर्ने लक्ष्य रहेको जनाए । ‘प्रसारण लाइन भएका अधिकांश ठाउँमा अहिले गहुँबाली छ, नयाँ पोल जडान गर्दा बाली क्षति हुन सक्छ । मर्मतका लागि स्थानीयले साथ दिनुपर्छ,’ उनले भने ।
वीरगन्ज वितरण केन्द्रका ३ हजार उपभोक्ता विद्युत्विहीन
वीरगन्ज वितरण केन्द्रअन्तर्गत २० वटा फिडरमध्ये चारवटा फिडरबाट विद्युत् आपूर्ति अवरुद्ध भएको छ । केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरका अनुसार ती फिडरका दुई सय ५० पोल ढलेका छन् । यसबाट कुल ४५ हजार उपभोक्तामध्ये तीन हजार उपभोक्ता बिजुलीबाट वञ्चित भएका छन् । त्यस्तै, चारमध्ये दुई औद्योगिक फिडरबाट विद्युत् लिएका उद्योगमा पनि आपूर्ति बन्द भएको छ । आपूर्ति नियमित हुन केही दिन लाग्ने ठाकुरको भनाइ छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ चैत्र २०७५, ०७ : २२
लेखकबाट थप