बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी बेलुकी बन्द !

एजेन्सी

शुक्रबार, १५ चैत्र २०७५, ०८ : ११
बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी बेलुकी बन्द !

बीबीसी । आइसल्याण्डको एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् ।

यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि चर्चित थियो । घाटामा चलिरहेको यो कम्पनीलाई पछिल्ला केही महिनादेखि बचाउने कोसिस पनि भइरहेको थियो ।

कम्पनीले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो । जानकारीमा भनिएको छ, ‘वाओ एयरले आफ्नो सबै काम बन्द गरेको छ । यसका सबै उडान पनि रद्द भएका छन् ।’

कम्पनीले यात्रीहरुलाई अन्य एयरलाइन्स कम्पनीबाट टिकट खरिद गर्नसक्ने बताएको छ । कम्पनीले भनेको छ, ‘क्रेडिट कार्डबाट पैसा चुकाइसकेका यात्रीले क्रेडिट कार्ड कम्पनीसँग सम्पर्क गर्नुहोस् । जसले युरोपेली एजेन्टसँग टिकट लिएका थिए उनीहरुका लागि उनका एजेन्टले अन्य उडानको व्यवस्था गर्न सक्छन् ।’

साथै कम्पनीले यात्रीहरुले वाओ एयरबाट युरोपेली नियम अनुसार क्षतीपूर्ती समेत पाउन सकिने बताएको छ ।

कम्पनीका संस्थापक एवं मालिक स्कूली मोगेन्सनले कम्पनीका एक हजार कर्मचारीसँग माफी मागेका छन् । उनले सुरुवातमा कुनै कदम उठाउन नसकेकोमा आफूलाई कहिले पनि माफी दिन नसक्ने बताएका छन् ।

आइसल्याण्ड जाने लगभग एक तिहाई मानिसहरु वाओ एयरको उडानको प्रयोग गर्दथे र अब जानकारले कम्पनी बन्द भएपछि देशको पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस