कसरी लगाउने मेहदी ?

पत्रपत्रिकाबाट

शुक्रबार, १५ चैत्र २०७५, ०७ : ५२
कसरी लगाउने मेहदी ?

महिलाले गर्ने विभिन्न शृंगारमा मेहदी लगाउनु पनि पर्छ । हातखुट्टामा आकर्षक बुट्टामा मेहदी लगाएर हिँड्ने महिला शहरबजारमा थुप्रै भेटिन्छन् । आजभोलि मेहदी लगाउनु फेसन नै भएको छ । परापूर्वकालदेखि नै मेहदीको आयुर्वेदिक उपयोगिता रहँदै आएको छ । कपाल झर्न रोक्ने, खुट्टा फुटेको निको पार्ने, हातको छालाको सौन्दर्य बढाउन यसको प्रयोग हुँदै आएको छ । तर, हिजोआज मेहदी उपचारका लागि भन्दा पनि सुन्दर देखिन बढी प्रयोग हुन थालेको छ । विवाह, साउन महिना, तीज तथा अन्य चाडपर्वमा महिलाले अन्य शृंगारसँगै मेहदीलाई पनि अनिवार्य रूपमा समावेश गर्न थालेका छन् । आकर्षक देखिन हिजोआज महिलाहरूले हत्केलामा मात्र नभई पाखुरा, गोडा र शरीरका अन्य भागमा पनि मेहदी लगाउने गरेका छन् । साधारण मेहदी बनाउने तरिका –    मेहदीको पात सुकाएर धुलो बनाउने । धुलो मेहदीलाई मलमलको कपडामा दुईतीन पटक छान्ने । –    कागतीको रसमा ८÷१० थोपा नीलगिरीको तेल हालेर धुलो मेहदीलाई भिजाउने र पानीमा इमली र चियाको पात राखी उमाल्ने । त्यसपछि पानी छानेर आवश्यक मेहदी धुलो हाली दुई घण्टा भिजाउने । –    गिलो मेहदीलाई कोन बनाएर प्रयोग गर्नुपर्छ । –    हात र खुट्टामा लगाएको मेहदी सुकेर नखसोस् भन्नका लागि कागतीको रस र चिनीको मिश्रणलाई मेहदीमा मिलाउनुपर्छ । मेहदी लगाएको चार÷पाँच घण्टापछि निकाल्नुपर्छ । मेहदी निकालेपछि १२ देखि १४ घण्टासम्म मेहदी लगाएको भागमा पानी पर्न दिनु हुन्न । –    मेहदी निकालेपछि त्यसमा तोरीको तेल लगाउनुपर्छ । –    मेहदी तयार पार्नका लागि मेहदी पाउडर, सेलोटेप, गिफ्टपेपर, रबर, कागती, चिनी, मेहदीको तेल, पिपरमेन्टको तेल, ल्वाङको तेल, सञ्चो, तोरीको तेल, कफी, चियापत्ती, तारपिनको तेल तथा डिटोल चाहिन्छ ।

रिजर्भ मेहदी लगाउने तरिका   
चाहिने सामग्रीः फेबिकोल र रातो (नेचुरल) मेहदी
फेबिकोल र रातो मेहदीको छुट्टाछुट्टै कोन बनाउने । त्यसपछि फेबिकोलको कोनले हातमा बुट्टा कोर्ने र पाँच मिनेटसम्म सुक्न दिई फेरि फेबिकोलको बुट्टामाथि मेहदीको कोनले लेप लगाउने । यसलाई तीन÷चार घण्टासम्म सुक्न दिने । फेबिकोल लागेको ठाउँमा मेहदी बस्दैन । तर, मेहदी लागेको ठाउँमा मेहदी बस्छ । यस्तो मेहदी लगाउने कामलाई रिजर्भ मेहदी भनिन्छ ।

गर्मीमा मेहदी बनाउने विधिः

मेहदीको पाउडर मनतातो पानीमा मिसाएर धुलोलाई लेदो बनाउने र दुईतीन घण्टासम्म भिजाउने । राम्रोसँग भिजेको मेहदीमा चारपाँच थोपा तारपिनको तेल, चारपाँच थोपा ल्वाङको तेल, चार थोपा नीलगिरीको तेल हालेर राम्रोसँग मिक्स गर्ने ।
फेब्रिक र मेटालिक मेहदी लगाउने तरिकाः
जुन ठाउँमा मेहदी लगाउने हो, त्यही भागमा स्किन गम लगाई कालो फेब्रिक र मेटालिक कलरले बुट्टाको आउटलाइन कोर्ने र भित्री भागमा मेहदी लगाउने । फेब्रिक र मेटालिक कलरको एलर्जी हुनेहरूले यो मेहदी लगाउनु हुँदैन ।
ब्ल्याक–ब्राउन मेहदी लगाउने तरिकाः
ब्ल्याक र ब्राउन मेहदी छुट्टाछुट्टै कोन बनाएर ब्ल्याक कोन बनाई आउटलाइन तानी १०÷१५ मिनेट सुक्न दिई पानीले धुने र सुकेपछि बाँकी भित्री भागमा ब्राउन मेहदीले बुट्टा कोरी चारपाँच घण्टासम्म सुक्न दिने । सुकिसकेपछि तोरीको तेल लगाई सफा गर्ने । यस्तो किसिमको मेहदीलाई ब्राउन मेहदी भनिन्छ । ब्ल्याक मेहदीले छालामा हानि गर्न सक्छ । शरीरको कुनै भागमा एक थोपा मेहदी लगाउने । त्यसबाट कुनै नकारात्मक असर देखिएन भनेमात्र यो मेहदी लगाउनुपर्छ । अन्यथा, यसले छालामा नराम्रो असर गर्न सक्छ । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस