बोइङले ७३७ म्याक्स विमानमा एउटा चेतावनी दिने सिस्टम थप गर्ने, विवादित सफ्टवेयरमा परिवर्तन

एजेन्सी

विहीबार, १४ चैत्र २०७५, १२ : ३६
बोइङले ७३७ म्याक्स विमानमा एउटा चेतावनी दिने सिस्टम थप गर्ने, विवादित सफ्टवेयरमा परिवर्तन

पछिल्लो पाँच महिनामा भएको दुईवटा विमान दुर्घटनासँग जोडिएको ७३७ म्याक्स विमानको विवादित फ्लाइट कन्ट्रोल सिस्टम (विमान नियन्त्रण गर्ने सिस्टम) मा परिवर्तन गरेको बोइङ कम्पनीले जानकारी दिएको छ ।

यद्यपि, विश्वभर ग्राउन्डेड गरिएको विमान कहिलेदेखि पुनः सञ्चालनमा आउनेछ भन्ने चाहीँ स्पष्ट गरिएको छैन ।

अनुसन्धानकर्ताहरुले अझै पनि दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेका छन् ।

बोइङले ७३७ म्याक्स विमानमा एउटा चेतावनी दिने सिस्टम थप गर्ने जनाएको छ, जुन यसअघि वैकल्पिक सुरक्षा प्रणालीको रुपमा विमानमा रहेको थियो ।

दुर्घटनाग्रस्त बनेका इन्डोनेसियाको लायन एयर र इथियोपियन एयरको विमानमा यो चेतावनी दिने सिस्टम थिएन जसले पाइलटहरुलाई सेन्सरले विरोधाभासी तथ्यांक दिएको खण्डमा पूर्व चेतावनी दिन्थ्यो ।

बोइङले यो चेतावनी दिने सिस्टम जडान गर्दा विमानहरुलाई थप रकम नलाग्ने पनि बताएको छ ।

त्यस्तै, विमान निर्माता कम्पनीले दुर्घटनासँग जोडिएको सफ्टवेयरमा पनि अपग्रेड गरेको जनाएको छ ।

मनुभरिङ क्यारेक्टरस्टिक्स अगुमेन्टेसन सिस्टम (एमसीएएस) नामक सफ्टवेयरले विमान धेरै ठाडो भएर उडान भरेको खण्डमा विमानलाई नियन्त्रणमा लिएर सामान्य अवस्थामा फर्काउने गर्थ्यो ।

गत वर्ष लायन एयरको विमान दुर्घटनाबारे अनुसन्धान गर्ने क्रममा यो सफ्टवेयरले काम नगरेको र प्लेनको अघिल्लो भागलाई २० पटकभन्दा बढी तल झार्ने प्रयास गरिएको र अन्ततः समुद्रमा दुर्घटनाग्रस्त हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रिेसन (एफएए) ले गत मार्च १० मा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र लायन एयरको विमान दुर्घटनामा केही समानताहरुको रहेको बताइसकेको छ ।

बोइङले सफ्टवेयरमा अपडेट गर्दै अब सेन्सरहरुबाट विरोधाभासी संकेतहरु आएको खण्डमा सफ्टवेयर निश्क्रिय रहने बनाएको छ ।

पत्रकारहरुसँगको कुराकानीमा कम्पनीले आफ्नो सिस्टममा परिवर्तन गरे पनि यसलाई ‘विमानको दुर्घटनाको कारक सो सिस्टम रहेको’ भन्ने कम्पनीको स्वीकारोक्तिको रुपमा नबुझ्न पनि आग्रह गरेको छ ।

कम्पनीले यो हप्ताको अन्त्यसम्म नयाँ अपग्रेडहरु एफएएलाई बुझाउने बताएको छ ।

यद्यपि, कम्पनीले नयाँ सफ्टवेयर इन्सटल गर्न, पाइलटलाई परिवर्तनबारे प्रशिक्षण दिन र फेरि उडान भर्न सुरक्षित रहेको सुनिश्चित गर्न समय लाग्ने बताएको छ ।

त्यस्तै, इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाबारे गरिएको संयुक्त अनुसन्धानको रिपोर्ट पनि यही हप्ता सार्वजनिक गरिने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस