पत्रकारिता

मोफसलमा रहेका महिला पत्रकारको अवस्था र चुनौती

सोमबार, ११ चैत्र २०७५, १२ : १०
मोफसलमा रहेका महिला पत्रकारको अवस्था र चुनौती

- मन गहिरे

लोकतन्त्रको पुनर्वहालीसँगै मुलकको सञ्चार क्षेत्रमा आमूल परिवर्तनहरु भए । संविधानको प्रस्तावनामै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंगिकार गरिएको छ । मुलुक केन्द्र, प्रदेश र स्थानीय तहमा गइसकेको अवस्था छ । लोकतन्त्रको विकास र संरक्षण गर्नका लागि मोफसलमा रहेका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहन्छ । राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्र आफैमा जटिल विषय भएतापनि महिला पत्रकारहरु विभिन्न सञ्चारमाध्यमहरुमा होमिएका छन् । हुन त आमसञ्चार जगतमा महिला सञ्चारकर्मीहरुको सहभागिता न्यून देखिन्छ । महिला पत्रकारको सहभागिता बढाउन नसकेकै कारणबाट पनि व्यवसायिकरुपमा पत्रकारिता गर्ने महिला सञ्चारकर्मीहरु ज्ञान, सीप र क्षमता हुँदाहुदै पनि पेशाबाट बाहिरिएका तमाम घटनाहरु छन् । तसर्थ मोफसलमा रहेर काम गर्ने महिला पत्रकारको अवस्था र चुनौतीहरुको विषयलाई नै यहाँ उठान गरिएको छ ।

राज्यले कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव नगरिने कुरा समानताको हकमा उल्लेख छ । तर, महिला पत्रकारहरु यसबाट बञ्चित रहेको देखिन्छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयका अनुसार महासंघमा १३ हजार ५० जना जम्मा पत्रकारमध्ये २ हजार ३ सय ५४ जना मात्र महिला पत्रकारको संख्या रहेको छ । सम्पादक पदमा ३२ जना महिला पुगेका छन् । १ हजार ५० पार्षदहरुमध्ये जम्मा ५३ जना महिला पार्षद रहेको अवस्था छ । देशभरिको नेपाल पत्रकार महासंघबाट सदस्यता प्राप्त तथ्यांकले यो देखाएको हो । त्यसैगरी महासंघकै सदस्यता प्रतिवेदनमा हेर्दा उपत्यका र प्रदेश नं. ३ छोडेर त्यस बाहेकका प्रदेशहरुमध्ये प्रदेश नंं. १ मा १४ सय ३४ जम्मा पत्रकार संख्यामध्ये २ सय ८७ महिला पत्रकारको संख्या रहेको छ । त्यसैगरी प्रदेश नंं. २ मा ८ सय ५० जम्मा पत्रकारमध्ये १ सय ११ मात्र महिला पत्रकार सदस्य छन् । प्रदेश नं. ४ मा ९ सय ७४ जम्मा पत्रकारमध्ये १ सय ८६ जना मात्र महिला पत्रकार सदस्य रहेका छन् । प्रदेश नं. ५ मा १७ सय ६१ मा जम्मा पत्रकार सदस्यमा महिला पत्रकार सदस्य ३ सय ३० जना, प्रदेश नं. ६ मा जम्मा ८ सय ४ जम्मा पत्रकार सदस्यतामा १ सय १३ जना मात्र महिला पत्रकार रहेको अवस्था छ । प्रदेश नं. ७ मा ९ सय ९६ जम्मा पत्रकारमध्ये १ सय २० जना मात्र महिला पत्रकार सदस्य रहेका छन् ।

यसरी माथिको तथ्याङ्कले आमसञ्चार जगतमा महिलाहरुको उपस्थिति न्यून रहेको देखाउँछ । समग्रमा महिला पत्रकारको उपस्थिति जम्मा १२ प्रतिशतमात्र रहेको देखिन्छ । ३३ प्रतिशतमा अझै पुग्न सकेको छैन । यही १२ प्रतिशत महिला पत्रकारहरु पनि यही पेशामा टिकिरहने अवस्था देखिँदैन ।

मोफसलमा रहेका महिला सञ्चारकर्मीका चुनौती
समाचारकक्षमा दलित, जनजाति, मधेसी, महिला पत्रकारको उपलब्धता न्यून देखिन्छ । कारण सञ्चारमाध्यमहरु, सञ्चारगृहहरु समावेशी नहुनु पनि एउटा पक्ष हो । त्यसका साथै महिला पत्रकार घरपरिवारको बन्धनमा जगडिनुपर्ने, बालबच्चा सम्हाल्नुपर्ने थप विशेष जिम्मेवारी बहन गर्नुपर्ने हुनाले महिला पत्रकार चाहेजस्तो स्वतन्त्र भएर काममा जान नसक्नु, विवाह भइसकेपछि होस वा विवाह नहुँदै होस, समाचार संकलनमा जाँदा पुरुष सहकर्मी सँगसँगै हिड्नु पर्दा समेत संकुचित समाजका अगाडि आक्षेप लगाउँछन भन्ने डर, त्रासको वातावण सिर्जना हुनु, घरपरिवारबाट सहयोग र प्रोत्साहन मिल्नुको सट्टा उपेक्षा गरिनु, सञ्चारगृहभित्रै पनि यौन दुव्र्यवहारको प्रवल सम्भावना हुनुका साथै रिपोर्टिङ जादा समेत सुरक्षाको प्रत्याभूति नहुनु पनि यसका कारक हुन् । त्यसैगरी अन्य पेशामा जस्तो समय निर्धारण नहुनु, जतिबेला जहाँ जे परे पनि हिड्नुपर्ने हुँदा सामाजिक सुरक्षा नहुनु, काम शुरु गरे पनि नियुक्तिपत्र नपाउनु, बढुवा प्रक्रियामा भेदभाव हुनु, तलब र पारिश्रमिकदेखि अन्य सेवासुविधामा समेत भेदभाव हुनु, जति नै क्षमतावान भए पनि मोफसलका महिला पत्रकार निर्णयक र नेतृत्व तहमा पुग्न नपाउनु, महिला पत्रकार भनेपछि विश्वास नगर्नु, मोफसलका महिला सञ्चारकर्मीहरुमा विशेष आरक्षण र अवसरको अभाव हुनु, राज्यका सेवासुविधाबाट वञ्चित हुनु, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुनु, सञ्चारगृहहरुको नियमित अनुगमन र मूल्याङ्कन नहुनु, वैदेशिक भ्रमण लगायत पेशागत दक्षता अभिवृद्धि गर्न तालिमको अवसर यदाकदा भए पनि मोफसलमा नहुनु जस्ता विविध चुनौतीहरुको सामना मोफसलका महिला सञ्चारकर्मीहरुले गर्नुपरेको छ । उचित पारिश्रमिक नहुँदा यसै पेशाबाट मात्रै जीवन निर्वाह नहुने हुँदा महिला सञ्चारकर्मीहरु पेशाबाट अन्य पेशामा संलग्न हुन जान्छन् ।
१५-२० बर्षसम्म निरन्तर मिडियामा काम गरेका महिला पत्रकारहरु उत्तराद्र्धमा गएर पेशाबाट पलायन हुनु परेको अवस्था, बौद्धिक श्रमको उचित मूल्याङ्कन नभएको भुक्तभोगी मोफसलका महिला पत्रकारहरु बताउँछन् । अब राज्यले आमसञ्चारमा महिलाहरुको पहुँच बढाउन महिला सञ्चारकर्मीहरुका लागि विशेष कार्यनीति ल्याउन जरुरी छ । आरक्षण, अवसरलाई निरन्तरता दिँदै पेशागत दक्षताका लागि तालिम दिनुपर्ने देखिन्छ ।

आम सञ्चारगृह महिलामैत्री हुनुपर्ने, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कार्य अनुभवका आधारमा सेवासुविधाको प्रवन्ध गर्नुपर्ने, सामाजिक सुरक्षामा विशेष प्राथमिकता दिइनुपर्ने, लैङ्गिकमैत्री सञ्चारमाध्यम निर्देशिका– २०७० लाई कार्यान्वयन तहमा पुर्याउनु पर्ने, पत्रकार महिलाको सामाजिक सुरक्षा प्रत्याभूति गर्नुपर्ने, गुणात्मक उपस्थिति बढाउन पुनर्ताजगी र नयाँ नयाँ प्रविधिसम्बन्धी ज्ञान, सीप, धारणाको विकास गर्नका साथै मोफसलका महिला पत्रकारहरुको स्तरवृद्धि गरी वृत्ति विकासमा समेत सरकारले विशेष ध्यान दिन जरुरी छ । पत्रकारिताबाट
(गहिरे नेपाल पत्रकार महासंघ पाल्पाको केन्द्रीय पार्षद हुन् ।)

प्रतिक्रिया दिनुहोस