रोनाल्डोलाई २० हजार युरो जरिवाना

एजेन्सी

विहीबार, ०७ चैत्र २०७५, १२ : १९
रोनाल्डोलाई २० हजार युरो जरिवाना

एजेन्सी । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २० हजार युरो जरिवाना तिराएको छ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक लगाएपछि अनुचित व्यवहार गरेका थिए । एसोसिएसनले खेल भावनाविपरीत कार्य गरेको भनी कारबाहीस्वरूप जरिवाना तिराएको हो । 

सिमोनी लक्षित
पहिलो लेगमा एट्लेटिकोले युभेन्टसलाई २–० ले पाखा लगाएको थियो । दोस्रो लेगमा युभेन्टसले ३–० को जित निकाल्दा रोनाल्डोले ह्याट्रिक लगाएका थिए । त्यही ह्याट्रिकको खुसियाली मनाउने क्रममा रोनाल्डोले म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीलक्षित अनुचित व्यवहार गरेका थिए । यता, एसोसिएसनले रोनाल्डोले देखाएको व्यवहार अमर्यादित भएको दाबी गरेको छ । ‘रोनाल्डोजतिको खेलाडीले मैदानमा खेल भावनाविपरीत कार्य गरे, हामीले कारबाहीका रूपमा नै उनलाई दण्डित गरेका हौँ,’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा 
भनिएको छ । 

सर्वाधिक गोल
च्याम्पियन्स लिगमा रोनाल्डोको नाममा सर्वाधिक गोल कीर्तिमान छ । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्टसबाट उनले समग्रमा १ सय ६० खेलबाट १ सय २४ गोल गरेका छन् । यसैगरी, ह्याट्रिकमा उनले बार्सिलोनाका लियोनल मेसीसँग बराबरी गरेका छन् । एट्लेटिकोविरुद्धको दोस्रो लेगमा गरेका ३ गोलको मद्दतमा रोनाल्डोले च्याम्पियन्स लिगमा मेसीको बराबर आठ ह्याट्रिक लगाएका छन् । 

२१ मार्चमा निर्णय
रोनाल्डोको कार्यप्रति धेरैजसो विश्लेषक तथा युरोपियन मिडियाले विरोध जनाएका छन् । युइएफएले प्रारम्भिक रूपमा २० हजार युरो जरिवाना सुनाए पनि उनबारे थप कारबाही सम्बन्धमा २१ मार्चमा निर्णय हुनेछ । युइएफएको बैठकले कठोर निर्णय गर्दा रोनाल्डोले एज्याक्सविरुद्धको क्वार्टरफाइनल खेल गुमाउन सक्नेछन् । युभेन्टसले क्वार्टरफाइनलमा एज्याक्सलाई पाखा लगाउँदा सम्भवतः रोनाल्डोले सेमिफाइनल खेल्न सक्छन् । 

प्रशिक्षक विश्वस्त
यता, युभेन्टसका प्रशिक्षक मासिमिआनो अलेग्री आफ्ना स्टार खेलाडीमाथि थप कारबाही नहुने विश्वास राख्छन् । ‘मेरो विचारमा सबैले जित वा गोलको खुसियाली व्यक्त गर्छन्, खेलाडीहरू आ–आफ्ना तरिकाले खुसी मनाउँछन्,’ प्रशिक्षक अलेग्रीले भने, ‘मलगायत सबैले रोनाल्डोले खुसी मनाएको देखेका थिए, तर हामीलाई खासै फरक लागेन ।’ सामान्य रूपमा मनाइएको खुसीमा प्रतिबन्ध लगाउनु नै नहुने उनले बताए । 

सिमोनीको उदाहरण
युइएफएले एट्लेटिको प्रशिक्षक सिमोनीलाई पनि गत साता कारबाही गरेको थियो । प्रिक्वार्टरफाइलनको पहिलो लेगमा सिमोनीले पनि युभेन्टसविरुद्ध अनुचित व्यवहार गरेका थिए । युइएफएले उनलाई १७ हजार पाउन्ड जरिवाना तिराएको थियो । यसैगरी प्रशिक्षक सिमोनीलाई मैदानको टर्च लाइनमा उभिन नपाउने निर्देशनसमेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस