जन्मदिनमा ७० लाख !

पत्रपत्रिकाबाट

बुधबार, ०३ माघ २०७४, ०७ : १०
जन्मदिनमा ७० लाख !

चितवन । खैरहनी नगरपालिका–८ पर्सा बजारका ५५ वर्षीय मुरलीप्रसाद गजुरेल सधैं जन्मदिन खोजिरहन्छन् । बिहान उठ्नासाथ पहिले आफूले टिपेको जन्ममितिसहितको डायरी पल्टाउँछन् । त्यसमा कसैको जन्मदिन भेटे तुरुन्तै फोन गरेर शुभकामना दिन्छन् । त्यहाँ जन्मदिन फेला नपारे सामाजिक सञ्जाल फेसबुक खोल्छन् ।

जन्मदिन पर्नेलाई पहिले शुभकामना दिन्छन् । त्यसपछि जन्मदिनमा खर्च गर्ने पैसा गरिब जेहेन्दार तथा विपन्न विद्यार्थी पढ्न खोलिएको कोषमा सहयोग गर्नआग्रह गर्छन् । सहयोग गर्न तयार भए चाहे नवलपरासी होस् चाहे मकवानपुर, मोटरसाइकल लिएर दौडिहाल्छन् । आजको कान्तिपुरमा खबर छ ।

घरको न्यून आर्थिक अवस्थाका कारण आफूले एसएलसीसम्म गर्न नसकेपछि अहिले उनी आफ्नोजस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत पढाउन सक्रिय छन् ।

उनले आफैं पढेको खैरहनी माविमा २०६७ पुसमा ‘जन्मोत्सव तथा स्मृति’ छात्रवृत्ति अक्षयकोष स्थापना गरे । उनको एक्लो प्रयासमा कोषमा अहिले ७० लाख ५ हजार जम्मा भएको छ । लक्ष्य १ करोड बनाउने छ । कोषले ब्याजबाट आउने रकम विद्यार्थीको अवस्था हेरेर आंशिक र पूर्ण छात्रवृत्तिमा खर्च गर्छ ।

अहिलेसम्म ३ सय ५१ जना विद्यार्थीले पूर्ण तथा आंशिक छात्रवृत्ति पाइसकेका छन् । कोषबाट कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ । सहयोग स्वरूप आउने रकम गरिमा विकास बैंक र हिमालय बैंकमा रहेको कोषको खातामा जम्मा गरिन्छ । भौचरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्ने व्यक्तिलाई पठाइन्छ ।

प्रतिक्रिया दिनुहोस