सन्दीप लामिछानेको प्रत्येक विकेटमा क्रिकेट रंगशालालाई आर्थिक सहयोग

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १९ : ०१
सन्दीप लामिछानेको प्रत्येक विकेटमा क्रिकेट रंगशालालाई आर्थिक सहयोग

चितवन । नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछाने यतिबेला विभिन्न अन्तराष्ट्रिय खेलहरुमा व्यस्त रहेका छन् । अब यी चर्चित खेलाडीले अन्तराष्ट्रिय खेलहरुमा १ विकेट लिँदा क्रिकेट रंगशाला निर्माणको लागि ५ डलर सहयोग आउने भएको छ । यो घोषणा सन्दीपले होईन अमेरिका बस्दैं आएका एक दम्पत्तिले गरेका हुन् । सन्दीपले अन्तराष्ट्रिय खेलमा विकेट लिदा ५ डलर सहयोग गर्ने घोषणा चित्र गौतम र टीका ढकालले गरेका हुन् । भरतपुर १५ चितवनमा निर्माण हुन लागिरहेको बहुआयामिक गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि सहयोग गर्ने अनौठो तरिका यी दम्पत्तिले खोजेका हुन् ।

उनीहरुले आफ्नो चौथो वैवाहिक वर्षगाँठको उपलक्ष्यमा उक्त घोषणा गरेका हुन् । साथै उनीहरुले दुईबर्ष अघि दिवंगत भएका क्रिकेट खेलाडी तथा आफ्ना सालो / भाई रमेश ढकालको सम्झनामा २२ हजार १ सय २३ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेका छन् । सोही सहयोग प्रदान गर्ने क्रममा उनीहरुले सन्दीपले अबदेखि  अन्तर्राष्ट्रिय खेलमा लिने प्रत्येक १ विकेट बराबर ५ डलर क्रिकेट रंगशाला निर्माणको लागि सहयोग दिने भएका हुन् ।

यसका साथै यी दम्पत्ति रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने अभियानमा समेत सामेल हुने भएका छन् । जनस्तरबाट नै ३ अर्ब लगानीमा निर्माण हुन लागिरहेको क्रिकेट रंगशालाका लागि यतिबेला देश तथा बिदेशबाट आर्थिक संकलनको काम भईरहेको छ । उता धुर्मुस सुन्तली फाउन्डेशनबाट सिताराम कट्टेल र कुञ्जना घिमिरे रंगशालाको भौतिक निर्माणको कार्यमा आफै खटिरहेका छन् । राष्ट्रिय गौरवकै रुपमा हेरिएको रंगशाला निर्माणको लागि मन खोलेर सहयोग गर्न उनीहरुले आग्रह गर्दे आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस