‘एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भयो’

बुधबार, २९ फागुन २०७५, १८ : ०९
‘एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भयो’

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भएको बताउनुभएको छ । 
भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताउनुभयो । 
कार्यक्रममा महानगर प्रमुख दाहालले भन्नुभयो, ‘यो एक महिनामा धमाधम निर्माणका काम अघि बढिरहेको छ, कपाउण्डिङको काम भइरहेको छ । बस्ने टहराहरु बनिरहेका छन्, मास्टर प्लानको योजना बनिरहेको छ ।’ प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको छ । 
कार्यक्रममा महानगर प्रमुख दाहालले चितवनको गौरवको आयोजना भएको हुनाले यसमा अझ चितवनवासी लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब रंगशाला सुरु गरिसकियो, यो जसरी पनि बनाउनु नै पर्छ, रंगशाला अलपत्र पार्ने छुट कसैलाई छैन, नकारात्मम टिप्पणी नगरौँ ।’


कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गर्नुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘स्थानीय सरकार भरतपुर महानगर हिजो जग्गा उपलव्ध गराउनदेखि सम्झौता हुँदै आज निर्माणको काम दिनरात नभनी लागिरहेको छ, यसमा सबैको जोडबल गर्न जरुरी छ ।’ 
महानगर प्रमुख दाहालले मिलेको खण्डमा भरतपुर महानगरबाट रंगशालाको लागि वार्षिक १० करोड विनियोजन गर्न आफू तयार भएको बताउनुभयो । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूहरुलाई इमानले यहाँसम्म ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको ५ महिनाभित्र गुरुयोजना तयार हुन्छ, हामीले विश्वको रंगशालाको अध्ययन गरिरहेका छौँ ।’


कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङलगायतले रंगशालाको लागि प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले रंगशाला निर्माणमा रकम संकलन गर्ने उपायहरु सुझाएका थिए । 

 

प्रतिक्रिया दिनुहोस