धेरैलाई खुसी दिने एकता सबैलाई रुवाएर गइन्

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १४ : ४४
धेरैलाई खुसी दिने एकता सबैलाई रुवाएर गइन्

चितवन । एकता अधिकारी । धेरै जनालाई खुसी दिने नेपाली चेली थिइन्, तर आज सबैलाई रुवाएर कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । गोर्खा स्थायी घर भएकी एकता मृत्यु भएको खबर हरेक नेपालीलाई पत्याउन मुस्किल भयो, तर पनि सत्य त्यही थियो, आखिरी नपत्याइ सुखै भएन । हरेकलाई रुवाउँदै अस्ताइन् । 
इथियोपिया विमान दुर्घटनामा गोर्खा जिल्लाकी एकता अधिकारीको समेत मृत्यु भएको पुष्टि भइसकेको छ । एक नेपालीको मृत्यु भएको खबर आउनसाथ एकखालको सन्नाटा छाएको थियो, जब एकताको मृत्युको खबर फैलियो, एउटा उज्यालो नक्षत्र अस्तायो । एउटा खुसी नआउने गरी विदा भयो । 
एकता अधिकारी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)मा कार्यरत थिइन् । अब उनको भौतिक शरीर हामी चाहेर पनि पाउन सक्दैनौँ । नेपालस्थित डब्ल्यूएफपी कार्यालयले ट्वीटरमार्फत अधिकारीको निधन भएको पुष्टि गरिसकेको छ । डब्ल्यूएफपी नेपालले शोक व्यक्त गर्दै ट्वीटरमा लेखेको छ, ‘एक प्रतिभाशाली मानवतावादी जसले धेरै जनाको जीवनमा खुसी ल्याएकी थिइन् ।’
युकेबाट एमबीए गरेकी थिइन् अधिकारीले । गोर्खामा जन्मेर त्यो ठाउँमा पुगेकी एकता एकमात्र पात्र थिइन् । गत डिसेम्बर महिनादेखि इथियोपियास्थित डब्ल्यूएफपीमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन् । एउटा सफल नेपाली चेली गुमेको महसुुस यतिबेला सारा नेपालीहरुलाई भइरहेको छ । एकतामा धेरै सम्भावना थियो । तर उनले आफ्नो प्रतिभा देखाउन पाइनन्, सदाको लागि अस्ताइन् । 
भनिन्छ, नियतिको खेल पनि यस्तै छ, जसमा प्रवल सम्भावना छ, त्यसैलाई चाँडै लैजान्छ  । एकताको हकमा पनि त्यही भएको छ । आज नेपाल र नेपालीलाई खुसी दिने एकता आँसुको खाडलमा सबैलाई डुबाएर बिदा भएकी छिन् । 
गत वर्ष सेप्टेम्बर महिनासम्म उनी नेपालमै कार्यरत थिइन् । गत वर्ष पपुआ न्यूगिनीना भूकम्प गएपछि उनलाई त्यहाँ पठाइयो । पपुआ न्यूगिनीना दुई महिनासम्म काम गरेपछि गत सेप्टेम्बरदेखि उनी इथियोपियामा थिइन् । तर लामो समयसम्म उनले आफ्नो खुबी देखाउनै पाइनन् । 

इथियोपिया विमान दुर्घटना : 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा

इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जान इथियोपियन एयरलाइन्सको बोइङ ७३७८ म्याक्स विमानमा चढ्नुअघि एकता अधिकारीले केन्याको झण्डासहित फेसबुकमा ‘स्टोरी’ पोस्ट गरेकी थिइन् । उनले लेखेकी थिइन् ‘नेक्स्ट डेस्टिनेसन केन्या ।’
२४ घण्टापछि त्यो ‘फेसबुक स्टोरी’ हराइसक्यो, तर उनी केन्या पुगिनन् ।  बाटैबाट अस्ताइन् । २८ वर्षीया एकता अधिकारीको नेक्स्ट डेस्टिनेसन केन्या बन्न सकेन । उनको यात्रा अन्तैतिर मोडियो, कहिल्यै नफर्कने गरी विदा भइन् एकता । 
मेनुका रोकाको फुपूकी छोरी थिइन् एकता । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको खबर मिडियाबाट थाहा पाउन साथ मेनुका रोकाले थाहा पाइन् त्यो विमानमा एकता थिइन् भनेर । उनी छाँगाबाट खसेजस्तो भइन् । तर कसैलाई भन्न सकिनन् । 

जब दुर्घटनामा एक नेपाली पनि परेको खबर आयो, त्यसपछि खोजी सुरु भयो । एकताका आमा र बुबा दुवै हाल अमेरिकामा बस्छन् । शुक्रबार मात्रै छोरी भेट्न अमेरिका उडेका थिए उनीहरु । भाइ मेनुकासँगै बस्थ्यो ।
मेनुकाले नेपालस्थित विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को कार्यालयमा सम्पर्क गरिन् । सुरुमा त्यताबाट ‘हाम्रो स्टाफ पनि परेको हो, तर कन्फर्म छैन’ भनेर नाम दिएन । अमेरिकामा फुपु र फुपाजुलाई फोन गरिन् । फोन उठेन । पछि बल्ल थाहा भयो, आमा र बुबालाई घटनापछि लगत्तै जानकारी दिइसकिएको रहेछ । आखिरी घटना सत्य थियो, एकता अस्ताइसकेकी थिइन् ।
गएको सातामात्र एकता नेपाल आएकी थिइन् । दुई दिनको छोटो समयको लागि अमेरिका जान लागेका बुबाआमालाई भेट्न आएकी थिइन् एकता । यसअघि दसैँतिहारमा पनि एकता कामको व्यस्तताले नेपाल आउन पाएकी थिइनन् । बुबाआमाको फ्लाइट शुक्रबार थियो भने त्यसको चार पाँच दिनअघि मात्र एकता इथियोपिया फर्केकी थिइन् । एकताका दुई दिदी अमेरिकामा छन् । 

यसरी सफल भइन् एकता 

गोरखा मूलघर भए पनि काठमाडौँको वनस्थलीमा बस्दै आएकी एकताले काठमाडौँकै पकनाजोलस्थित निलगिरी स्कूलमा माध्यमिक स्तरको पढाइ सकेपछि युकेमा थप अध्ययन गरेकी थिइन् ।  
२०७२ सालको भूकम्पपछि उनले युएनको जागिर पाइन् । उनले डब्लुएफपीमा सप्लाइ चेन एन्ड हब सपोर्टमा २ वर्ष ४ महिना काम गरिन् । त्यसपछि उनी पपुवा न्युगिनीमा तीन महिना मिसनका लागि खटिइन् इन्फरमेसन म्यानेजमेन्ट अफिसरको काममा ।  त्यहाँबाट फर्किएपछि एक वर्ष काठमाडौँमै काम गरेर सेप्टेम्बर २०१८ देखि उनको पोस्टिङ इथियोपियाको अदिसअबाबामा भएको थियो । एकताका धेरै सपनाहरु थिए, उनको निधनसँगै चकनाचुर भएका छन् । 

प्रतिक्रिया दिनुहोस