गैंडा जोगाउन ‘खाग’ निर्माण

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १३ : २२

चितवन । सेभ दी राइनो फाउण्डेसनको प्रस्तुति नेपाली कथानक चलचित्र खाग फागुन २४ गते शुक्रबार रिलिज हुँदैछ । गैंडा संरक्षणमा खटिएको कर्मचारीको सफलताको कथा हो खाग ।

चलचित्र खागको रिलिज डेट नजिकिँदै जाँदा फिल्म युनिटले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै लेखक कमलजंग कुँवरले ४५ लाख रुपैयाँ लागतमा चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । कुँवरको आत्मकथा ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खागको अधिकांश छायाँकन चितवनमा भएको छ ।

लेखक कुँवरले चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष आठ महिना सहायक संरक्षण अधिकृतका रुपमा काम गर्नु भएको थियो । चोरशिकारीविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्न कुँवरका अनुभव गैंडालाई चार वर्ष पुस्तकमा समेटिएका छन् । त्यही पुस्तकमा आधारित भएकोले चलचित्र खागमा निकुञ्जको इमानदार कर्मचारी र खाग तस्करबीचको द्वन्द्वलाई समेटिएको छ ।

‘गैंडाको मृत्यु खागसँग जोडिएको छ’ लेखक कुँवरले भन्नुभयो, ‘खागकै लागि गैंडाको चोरीशिकार हुन्छ । त्यसैले फिल्मको नाम खाग राखिएको हो ।’ चलचित्रमा गैंडाको अत्याधिक चोरीशिकारको अवस्थाबाट जिरो पोचिङसम्मको कथा चलचित्रले बोकेको चलचित्रका नायक प्रवीण खतिवडाले बताउनु भयो । मनोज पण्डितद्वारा निर्देशित चलचित्रको छायाँकन दीपक बज्राचार्यले गर्नु भएको छ । चलचित्रको निर्मातामा प्रमिला कुँवर रहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस