ठोस प्रस्तावसहित वाम तालमेल : मधेसकेन्द्रित दल र सानासँग मिल्ने रणनीति

पत्रपत्रिकाबाट

सोमबार, ०१ माघ २०७४, ०८ : ०९
ठोस प्रस्तावसहित वाम तालमेल : मधेसकेन्द्रित दल र सानासँग मिल्ने  रणनीति

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । कार्यदलका नेताहरूका अनुसार एमालेले ३० र माओवादीले न्यूनतम आठदेखि ११ सिट जित्ने गरी तालमेल हुनेछ । यद्यपि, दुवै दलले सातवटै प्रदेशका ५६ सिटमै उम्मेदवारी दिने र त्यस अनुपातकै सिटमा तालमेल गर्ने गरी ठोस प्रस्ताव बनाउने गृहकार्य अघि बढाएका छन् ।

प्रदेश १ र ३ मा एमालेको बहुमत रहेकाले आठ सिटमध्ये दलित र अल्पसंख्यक वा अपांगता कोटामा उसैको उम्मेदवार निर्वाचित हुनेछन् । बाँकी खुला तीन र महिला तीन सदस्यमा दुई दलले तालमेल गरेर उम्मेदवार उठाउनेछन् ।

प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरम मिल्दा चार सिट, वाम गठबन्धनले बढीमा दुई र कांग्रेसले दुई सिट जित्ने सम्भावना छ । मधेसकेन्द्रित दल गठबन्धनसँग मिलेमा भने कांग्रेसको सिट घट्ने तथा गठबन्धन र मधेसकेन्द्रित दलको सिट बढ्न सक्ने नेताहरूको भनाइ छ ।

मधेसकेन्द्रित दल र सानासँग मिल्ने रणनीति
न्यूनतम ३८ सिट जित्ने निश्चित देखिए पनि थप तीन सिटमा पनि जित सुनिश्चित गर्न वाम गठबन्धनले मधेसकेन्द्रित संघीय समाजवादी फोरम र राजपा तथा राष्ट्रिय जनमोर्चा, नेमकिपा, विवेकशील साझा, नयाँ शक्ति पार्टी र स्वतन्त्र हैसियतमा जितेकासँग छलफल चलाउने भएको छ ।

कार्यदल सदस्य पुनका अनुसार प्रदेश २, ३ र ६ मा मधेसकेन्द्रित सहित साना दलसँग सहयोगका लागि छलफल चलाइने छ । प्रदेश २ मा १ सिट मात्रै सुनिश्चित रहेकाले थप एकदेखि दुई सिट सुनिश्चित गर्न राजपा र फोरमसँग छलफल गरिने उनको भनाइ छ ।

त्यस्तै, प्रदेश ३ मा नेमकिपा, विवेकशील साझा र नयाँ शक्ति, ६ मा आठवटै सिट सुनिश्चित गर्न स्वतन्त्र हैसियतमा चुनाव जितेकासँग छलफल गरिने पुनले बताए । १, ३, ४, ५ र ७ मा कम्तीमा हरेक प्रदेशमा ६ सिट जित्न सकिने वाम गठबन्धनको हिसाब छ । त्यस्तै, ६ मा पूरै र मधेसकेन्द्रित दलसँग तालमेल गरेर बढीमा तीन सिट जित्ने गठबन्धनले लक्ष्य राखेको छ ।

एमालेको बहुमत रहेकाबाहेकका प्रदेशमा बहुमतीयबाट निर्वाचित हुने दलित, अपांगता वा अल्पसंख्यक कोटामा एक–एक सिट तथा प्रदेश ५ र ७ मा एक–एक सिट खुला या महिलामा बाँडिन सक्ने सम्भावना देखिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस