–सुमन गैरे
चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २२ स्थित पटिहानीमा रहेको कमलपोखरीमा रातो र सेतो कमलको फूल फुल्ने गरेको छ । वडा कार्यालय अगाडि रहेको पोखरीलाई गर्मी महिनामा ढपक्कै सेतो र रातो कमल फूलले छोपेको देख्न सकिन्छ । ढकमक्क फुलेको फूलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेकै हुन्छ । त्यसबाट बनेको दाना बिउ औषधिको रुपमा प्रयोग हुने गरेको स्थानीयको भनाइ छ ।
फूलको दाना र जराबाट बनाइएको औषधि सेवनबाट जण्डिस, रुघाखोकी लगायतका रोगहरु निको हुने गरेको स्थानीय रामहरि सेढाईंले बताउनुभयो । सेतो कमलको फुल मौसमअनुसार नियमित फुल्ने र रातो कहिलेकाहीं फुल्ने गरेको उहाँको भनाइ छ । स्थानीय रआन्तरिक पर्यटक कमलको फूलको बिउ लिन आउने गरेको उहाँले जानकारी दिनुभयो । पोखरीमा कमलको फूल मात्र होइन एक भाले गोही र चारवटा बच्चा रहेको सो वडाका अध्यक्ष विष्णुराज महतोले बताउनुभयो । पोखरीको क्षेत्रफल ११ कट्ठा रहेको उहाँले जानकारी दिनुभयो ।
झण्डै दुईसय वर्ष अघि निर्माण भएको पोखरी र आसपासको तीन बिघा जमिन स्थानीय समाजसेवी गर्वु महतोले दिएको वडा अध्यक्ष विष्णुराजले बताउनुभयो । पोखरी आसपासको क्षेत्रलाई बालमैत्री पार्क बनाउन आठ करोडको गुरुयोजना बनाई विस्तृत परियोजना (डिपिआर) तयार गरी सहरी विकास मन्त्रालयमा पठाएको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो । पार्क बनाएपछि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी आम्दानीको स्रोत बढाउन सकिने उहाँको भनाइ छ ।
पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको कमलको पोखरीमा बेलाबखतमा बढ्ने गरेको जलकुम्भी झारलाई सफा गर्ने गरेको सो वडा कार्यालयका कर्मचारी रामनारायण महतोले बताउनुभयो । कहिल्यै पानी नसुक्ने तर गर्मी याममा पानीको सतह घट्ने पोखरीमा बेलाबखतमा डिप बोरिङबाट पानी ल्याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरको एक वडा एक पोखरी, एक वडा एक पार्क कार्यक्रम अन्र्तगत कमलपोखरी र वरिपरि बन्न लागेको बालमैत्री पार्कले टेवा पुग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस