नेपाल प्रेस युनियन चितवनद्वारा संस्थापकहरुलाई सम्मान

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, १८ : ४९
नेपाल प्रेस युनियन चितवनद्वारा संस्थापकहरुलाई सम्मान

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले २६ वर्षपछि संस्थापक कार्यसमितिलाई सम्मान गरेको छ । शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले संस्थापक कार्यसमितिलाई सम्मान गरे ।

२०४९ सालमा चितवनमा युनियनको शाखा स्थापना भएको थियो । सचिव वेदनप्रसाद खरेल, कोषाध्यक्ष काशिराम अधिकारी, सदस्यहरु कृष्ण भण्डारी, विष्णु ढकाल र राजुबहादुर खनाललाई सम्मान गरिएको छ । खरेल र भण्डारी नेपाल पत्रकार महासंघ चितवनको पूर्वअध्यक्ष समेत हुन् । खरेल युनियन चितवनको पूर्वअध्यक्ष पनि हुन् । संस्थापक अध्यक्ष विश्वनाथ अधिकारी बिरामी भएकाले आराम गर्दै काठ्माण्डौ नीजि निवासमा छन् । उनलाई काठ्माण्डौ एक विशेष कार्यक्रमकाबीच सम्मान गरिने जनाइएको छ ।

“अग्रज पुस्तालाई गरेको सम्मान सराहनीय छ”, पूर्वअर्थमन्त्री आचार्यले भने, “लोकतान्त्रिक पद्धतिका लागि नयाँ पुस्ताले खबरदारी गर्ने कामको संकल्प पनि हो ।” संस्थापक सचिव खरेलले भने, “थोरै पत्रकार थिए, जीविकोपार्जन पनि मुस्किल थियो, तर युनियनमा गोलबद्ध गर्ने काम ग¥यौँ ।” संस्थापक सदस्य भण्डारीले एक हप्तासम्म प्रेसमै बसेर समाचार छाप्नुपर्ने विगतको तुलनामा हाल भित्रिएका नयाँ प्रविधिले पत्रकारितालाई सहज बनाएको बताए । 

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले  पुराना पत्रकारलाई गरिएको सम्मानले समाजमा स्थापित गर्ने र नयाँ पुस्तालाई प्रेरणा दिने कार्यमा सघाउने बताए । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संस्थापकहरुको सम्मानले युनियन चितवनकोे इतिहासबारे अध्ययन गर्न मद्धत पुग्ने बताए । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले इतिहासलाई सम्झदै गुणात्मक विकास गर्न संस्थापकहरुको सम्मान गरिएको बताए । सो अवसरमा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद रामकृष्ण घिमिरे, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरी, प्रेस युनियन काठ्माण्डौ शाखाका अध्यक्ष नकुल अर्याल, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । युनियन चितवनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस