देवघाटधाममा विराट ज्ञानमहायज्ञको तयारी पूरा

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, १७ : २१
देवघाटधाममा विराट ज्ञानमहायज्ञको तयारी पूरा

चितवन । पवित्र तीर्थस्थल देवघाटमा हुन लागेको विराट ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म हुने महायज्ञको तयारी पूरा भएको हो । 

महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको आयोजकको भनाइ छ । महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक टंकनाथ पौडेलले महायज्ञको तयारी पूरा भएको बताउनुभयो । आज महेश सन्यास आश्रममा गरिएको पत्रकार सम्मेलनमा संयोजक पौडेलले भन्नुभयो, ‘९९ प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी केही काम भोलिसम्म सकिनेछ ।’
महायज्ञमा १०८ श्रीमद्धागवत पाठपारायण चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्षहवन गरिने संयोजक पौडेलले बताउनुभयो । 

महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरिएको छ । महायज्ञका लागि १०८ कर्तासमेत तयार भइसकेको छ । 

महायज्ञ आयोजक मूल समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले २०५० सालमा स्थापित महेश सन्यास आश्रमको रजतवर्षको उपलक्ष्यमा महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो । 
उहाँका अनुसार महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ । राष्ट्रपति भण्डारीसहित सांसद, मन्त्रीहरुको पनि उपस्थिति रहनेछ । महायज्ञ सुरु हुनअघि भजनकीर्तन प्रतियोगिता कलशयात्रालगायतका कार्यक्रम हुनेछन् । 

करिब दुई करोडको लगानीमा  आयोजना गर्न लागिएको महायज्ञबाट १० करोड बचत हुने अनुमान गरिएको छ । विराट महायज्ञमा प्रमुख कथावाचकको रुपमा आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि छन् । अन्य कथावाचकमा सो आश्रमबाट अध्ययन गरेर गएका र अध्ययन गर्दै गरेका विद्यार्थी रहनेछन् । यसअघि गुरुकुलले २०६५ सालमा पहिलो पटक बिराट ज्ञान महायज्ञको आयोजना गरेको थियो । महायज्ञ सम्पन्न गर्नका लागि आयोजकले दुई हजार भक्तजनलाई आवासको व्यवस्था गरेका छन् ।

महेश सन्यास आश्रम र उक्त गुरुकुलका संस्थापक ब्रह्मलीन १००८ डा स्वामी रामानन्द गिरिजीको स्मृतिमा महायज्ञ गर्न लागिएको हो । पत्रकार सम्मेलनमा प्राचीन वैदिक यज्ञीय पद्धतिको प्रशिक्षण  प्रचार–प्रसार, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण र गुरुकुल शिक्षाको सुदृढीकरणका निम्ति ज्ञान महायज्ञ गरिन लागिएको स्वामी महाराजजीले बताउनुभयो । 

श्रीमद्भागवत महापुराण, महारुद्राभिषेक (उखुको रसद्वारा), चतुवेर्द पाठ–पारायण, ब्रह्मागायत्री लक्षहवन, अष्टाचलसहित धान्याञ्चल दान, पितृउद्धार अनुष्ठान, सतचण्डी अनुष्ठान, कोटीद्वीप प्रज्ज्वलन लगायत महायज्ञमा अनुष्ठानहरु हुने स्वामी महाराजजीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस