काठमाडौँ । क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी गरिएको छ। सन् १९९६ मा भएको विमान दुर्घटनासम्बन्धी घटनालाई आधार बनाएर अमेरिकी पक्षले उनीमाथि विभिन्न आपराधिक अभियोग दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी अभियोजन पक्षका अनुसार क्युबाली सैन्य कारबाहीका क्रममा उक्त वर्ष एउटा सानो विमान खसालिएको थियो, जसमा सवार चार जनाको मृत्यु भएको थियो। घटनामा मृत्यु हुनेमा कार्लोस कोस्टा, अर्मान्डो अलेजान्द्रे जुनियर, मारियो दे ला पेना तथा पाब्लो मोरल्स रहेका थिए।
उनीहरू क्युबाबाट अमेरिका पुगेका व्यक्तिहरू रहेको र मायामी केन्द्रित “ब्रदर्स टु रेस्क्यू” समूहसँग आबद्ध भएर क्युबाबाट पलायन हुने नागरिकलाई सहयोग गर्दै आएको बताइएको छ।
क्युबाली पक्षले भने विमानले पटक-पटक चेतावनी अवज्ञा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि सैन्य विमानमार्फत कारबाही गरिएको दाबी गर्दै आएको थियो।
घटनाका समयमा राउल क्यास्ट्रो रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए। बुधबार सार्वजनिक अभियोग पत्र अनुसार उनीमाथि अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र, चार वटा हत्या तथा विमान विनाशसँग सम्बन्धित दुई अभियोग लगाइएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अभियोग दर्तासँगै क्यास्ट्रोविरुद्ध पक्राउ आदेश पनि जारी गरिएको हो।
९४ वर्षीय क्यास्ट्रो फिडेल क्यास्ट्रोका भाइ हुन्। हालसम्म उनी क्युबा बाहिर गएको वा अमेरिकालाई सुपुर्दगी गरिने संकेत सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १२ : ३७
लेखकबाट थप