आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, ०६ : ३१
आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।

इडेन गार्डेन, कोलकातामा आइतबार दिउँसो भएको खेलमा कोलकाताले हैदरावादलाई ८० रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै कोलकाताले अंक तालिकामा सुधार गर्दै चार खेलबाट चार अंक जोडेको छ भने पाँचौँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो। टोलीका लागि वेंकटेश अय्यरले ६० रनको उत्कृष्ट इनिङ खेले भने अंगकृत रघुवंशीले ५० रन बनाए । कप्तान अजिन्क्या रहाणेले ३८ र रिन्कु सिंहले अविजित ३२ रनको योगदान दिए ।

२०१ रनको लक्ष्य पछ्याएको हैदरावाद भने १६.४ ओभरमै सबै विकेट गुमाउँदै १२० रनमा समेटियो । हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ३३ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३–३ विकेट लिएर टोलीको जित सुनिश्चित गरे ।
यस हारसँगै हैदरावादले लगातार तेस्रो पराजय बेहोरेको छ र अंक तालिकाको पुछारतिर झरेको छ ।

प्रतिक्रिया दिनुहोस