दानकै भरमा धामको कल्पना : पूरा होला त पाँच वर्षमा सपना !

बाबु कृषभ

बुधबार, ०४ पुस २०७५, ११ : २८
दानकै भरमा धामको कल्पना : पूरा होला त पाँच वर्षमा सपना !

चितवन । गरे के कुरा सम्भव छैन र ? दानकै भरमा धामसमेत बनाउन सकिने कुरा चरितार्थ हुँदै गएको छ । दान र चन्दाकै भरमा झन्डै एक अर्बको संरचना निर्माण गर्नु चानचुने कुरा होइन । भनिन्छ, तँ आँटमात्र गर, भगवानले पूरा गर्नेछन् । आखिरी यस्तै भयो । आँट मात्र भएको थियो, पूरा हुने लक्षण त देखियो । 
प्रसङ्ग हो, भरतपुर ११ मा रहेको गणेशस्थानको । दानकै भरमा गणेशधाम बनाउने सपना आयो । धेरैलाई लाग्यो, सम्भव होला र ! चन्दा र दानकै भरमा राष्ट्रियस्तरकै धाम बनाउन । केहीलाई लाग्यो पनि, यो त आकाशलाई टिपेर गोजीमा राख्छु भनेजस्तो कुरा भएन र ?’
भनिन्छ, एक थुकी सुकी, सय थुकी नदी । सबै चितवनवासी एकजुट भए गणेशस्थानलाई गणेशधाम मात्र होइन, महाधाम बनाउन पनि सम्भव छ । आखिरी हामीसँग के कम छ, अर्थ, एकता, साहस, सहयोग सबैथोक छ, धाम बनाउन सम्भव छैन ? छ, अवश्य छ । हातमा हात मिलाऔँ, काँधमा काँध मिलाऔँ । 
धाम त बनाउने, गुरुयोजना पनि बनाउने, आर्थिक स्रोत कसरी जुटाउने ? छलफल र बहसहरु सिर्जना भए । जनता नजुर्मराएसम्म राज्यबाट केही आशा गर्न सकिदैन । चितवनवासी, अझ भरतपुर महानगरवासी धाम बनाउने अठोटमा लागेर केही नगरेसम्म राज्यबाट आशा गर्न पनि मिल्दैन । बनाउन त धाम बनाउने, जनता जाग्ने, जुर्मुराउने तर गाँठी कुरो त अर्थ हो, अर्थ अर्थात् पैसा कसरी संकलन गर्ने ?


‘महायज्ञ चलाउने, जनताबाट सुरुवात् गर्ने, अनि राज्यको ढोका ढकढक्काउने’ प्रदेश सांसद विजय सुवेदीको दिमागमा आयो, ‘सुरुवाती काम जनताबाट हुन थालेपछि राज्यलाई दबाब पर्छ, गणेशधाम बन्छ, अवश्य बन्छ, चुप लागेर बसियो भने यो ऐतिहासिक धरोहर हराउला, तर केही गरियो भने, फल्ने फुल्ने अवसर पाउँछ ।’
महायज्ञ अगाडि गुरुयोजना बनाउने । यी गुरुयोजना बनाउन यति रकम लाग्छ भन्ने सन्देश जनतामाझ पुयाउने । अनि महायज्ञ चलाएर दान चन्दाबाट धाम बनाउने । कस्तो ठूलो साहस । मुठीमुठी जोडेर धामको परिकल्पना । 
हुन त, तोरीको दानादाना टिपेर बोरा भर्न सकिएको उदाहरण समाजमा प्रशस्त छ, यत्रो ठूलो भरतपुर लाग्दा सम्भव नहुने त कुरै भएन । गणेशधामको परिकल्पना गरेका सांसद सुवेदी नै धामको गुरुयोजनामा अग्रसर भए । 
गणेशस्थानलाई धाम बनाउन १७ वटा गुरुयोजना बने । नेपालकै ठूलो पञ्चमुखी २५ फिटको गणेशको मूर्ति गुरुयोजनामा छ । सुन्दर तलाउको बीचमा कमलको फूलमाथि गणेशको मूर्ति हुनेछ । गणेशको मूर्ति वरिपरि पानीको फोहोरा हुनेछन् । विशाल कैलाश पर्वतको नुमना बन्ने भयो । कैलाश पर्वतमा शिव पार्वती र कुमार गणेशको आकर्षक मूर्ति हुनेछ । 
अब कैलाश पर्वतको अनुभव गणेशस्थानमा पाइन्छ । कैलाश पर्वतको तल्लो समथर भागमा नेपाली शैलीको आकर्षक मण्डला बनाइनेछ । गंगा आरतीको स्थल हुनेछ । 
यसबाहेक अहिले रहेका दर्जनौं मन्दिरहरुलाई नेपाली शैलीमा आकर्षक तरिकाले सम्बद्र्धन र स्तरवृद्धि गरिनेछ । सबै मठमन्दिरहरु नेपाली शैली झल्कने खालको बनाइनेछ । गणेशस्थान मन्दिर क्षेत्रमा रहेको पुँगी खोलालाई बाँध लगाएर तलाउहरु निर्माण गरिनेछ ।
अहो ! पढ्दा पनि कति आनन्द लाग्ने, कैलाश पर्वतको अनुभव गणेशस्थानमै गर्न पाइने । परिकल्पनाकार विजय सुवेदीले यस्तो गुरुयोजना सुनाइराख्दा सबैको मन त दसैँको चङ्गाजस्तो भइहाल्यो । गणेशस्थान समिति तात्यो, स्थानीय ताते, सबैको साथ र सहयोग वचनबाट आउन थाल्यो । 
अब, जोड बलले लागौँ र धार्मिक महोत्सवसमेत गरौँ । चितवनको प्रेस जगत सिङ्गो छ, जसले यसअघि गणेशस्थानलाई देशमै चिनाइरहेको छ, अब धाम बनाउने अठोटमा उसको पनि साथ रहन्छ । मन्दिर समितिबाट पत्रकार सम्मेलन गरेर मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गर्ने घोषणा भयो ।
 
महायज्ञ मूल आयोजक समितिका संयोजक बने समाजसेवी दिनेश चुके । महायज्ञमा कथा वाचन भयो, पं दीनबन्धु पोख्रेलबाट । मीठो आवाजका धनी पोख्रेलका शव्दशव्दले दाताहरुलाई उत्साहित बनायो । चुके एक्लैले १ करोड १ लाख दान दिए ।
चितवनलाई आधार बनाएर लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका व्यवसायी चुके गणेशधाम निर्माणमा दिनरात खटिनेमात्र होइन, आर्थिक संकलनमा समेत होमिए । उनको परिवारबाट ठूलो धनराशि सहयोग भयो । 
अनि त के चाहियो, एक, एक गरी भरतपुर महानगरका समाजसेवी निस्किए । कसैले ५ लाख, कसैले १० लाख, कसैले २० लाख यस्तैयस्तै धनको वर्षा हुन थाल्यो ।  ‘मेरो जीवनको एक अभिन्न अंग नै गणेशस्थान भएकोले धाम बनाउन दान गरेको हुँ, अरुलाई पनि हौसला मिलोस्, उर्जा थपोस्’, मूल आयोजक समितिका अध्यक्ष समाजसेवी दिनेश चुकेको शव्दवाणले सबैलाई छोयो । सात दिनसम्मको छोटो महायज्ञमा झन्डै ११ करोड उठ्यो । 
आखिरी गरे त हुँदोरहेछ, यही प्रमाणित गरेको छ, गणेशधामले । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न १४ लाखको लागतमा डीपीआर निर्माण गरिएको छ । अब जनता जागेका छन्, राज्यले पनि पछ्याउन थालेको छ । 
हुन त, सबै गुरुयोजना निर्माण गरी सम्पन्न गर्न ८० करोड लाग्ने अनुमान गरिएको छ, तर पनि जनताको दानबाट सुरुवात् भइसकेको छ । राज्यले टुलुटुलु हेरेर बस्न मिल्दैन । ४४ बिघा जमिनमा फैलिएको गणेशस्थान गणेशधाम अवश्य बन्नेछ ।
महायज्ञ लम्बेको भए, अझ थु्रपै रकम उठ्ने थियो । अहिले पनि आर्थिक संकलन हुने काम जारी छ । विभिन्न संरचनाहरु बनाइदिने हातहरु उठिरहेका छन् । गुरुयोजना सम्पन्न गरी गणेशधाम बनेको हेर्न मनहरु आतुर छन् । पाँच वर्षमा धाम बन्ने सपना साकार हुने प्रतीक्षामा छन् सबैजना । 


 

प्रतिक्रिया दिनुहोस