नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिव श्रेष्ठको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १७ : ०८
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिव श्रेष्ठको निर्देशन

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

प्रहरी प्रधान कार्यालय नक्सालको आज निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

गृहसचिव श्रेष्ठले स्रोतसाधनको सीमितता र चुनौतीका बाबजुद अपराधको नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा, समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गराउन तथा कानुन कार्यान्वयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रचलित ऐन, कानुनको कार्यान्वयन, नागरिकको जीउधन र संवैधानिक हक अधिकारको संरक्षणमा प्रहरी संगठन कटिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस