काङ्ग्रेस महासमिति बैठकको तयारी पूरा

विहीबार, २७ मंसिर २०७५, १९ : ०८
काङ्ग्रेस महासमिति बैठकको तयारी पूरा

फाईल फोटो

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको जानकारी दिनुभयो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा भारत, जापान, बेलायत, अमेरिकालगायत मुलुकबाट प्रतिनिधि सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई शुक्रबार काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिनेछ । 

मङ्सिर २९ गते महासमिति बैठक उद्घाटन हुने र सोही दिन बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । महासमितिमा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा सशाङ्क कोइरालाले साङ्गठिन, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीका आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ । 

उक्त प्रतिवेदनलाई प्रदेशस्तरीयरुपमा छलफल गरी उक्त दस्तावेज प्रदेशस्तरीयरुपमा छलफल गरी पारित गरिनेछ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमिति बैठकले काङ्ग्रेसलाई पुरानो दलबाट नवीन ऊर्जा थप्ने र ठूलो सक्तिलाई व्यवस्थित ढङ्गले लिएर जान प्रेरणा मिल्ने उल्लेख गर्नुभयो । 

पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले नीतिगत सुधार र पार्टीभित्र उठेका फरक धारणालाई सम्बोधन गर्न महासमिति बैठक सफल प्रवक्ता शर्माको भनाइ छ । 

महासमिति बैठकमा करीब रु एक करोड खर्च हुने जनाइएको छ । खर्च व्यवस्थापनका लागि पार्टीको आन्तरिक कोष र जनप्रतिनिधि भइसकेकाबाट लिइनेछ भने महासमितिमा सहभागीलाई दर्ता शुल्कबापत रु एक हजार लिइनेछ । बिहानको खाना र खाजा व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्नेछन् । 

काङ्ग्रेसको लेखा समितिको प्रतिवेदनअनुसार चालू आवमा कूल खर्च रु छ करोड ९० लाख २१ हजार ३६८ खर्च भएको छ । गत आवमा रु पाँच करोड ८५ लाख ५८८ खर्च भएको छ । काङ्ग्रेससँग जगेडा रुकम रु एक करोड दुई करोड ८० हजार ८८० रहेको छ । 

महासमिति बैठक अवधिभर हरेक दिन बिहान ११ र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ । महासमितिका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा प्रचारप्रसार तथा स्वागतद्वार बनाइने स्थानीय व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज) ले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस