शहीदको सपना पूरा गराउन लागिपरेका छौँ : अध्यक्ष प्रचण्ड

विहीबार, २७ मंसिर २०७५, १३ : ५८
शहीदको सपना पूरा गराउन लागिपरेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । 

थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताउनुभयो । 

नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । 
नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उहाँको भनाइ थियो । आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ थियो । 
जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उहाँले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताउनुभयो । 
थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गर्नुभएको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु गरिएको उपलक्ष्यमा आज विमोचन गरिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस