कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, ०८ : २७
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौँ । जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ भएको थियो ।

बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।

महाधिवेशन कार्यतालिका परिमार्जनबारे पनि आज छलफल हुने बताइएको छ ।यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने पार्टीको तयारी छ । 

पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस